इंग्ल्याण्डलाई समुह चरणमा व्यहोरेको हारको बदलालिने अवसर

काठमाण्डौं । विश्वकप फुटबल अन्तर्गत शनिवार तेश्रो स्थानका लागि इंग्ल्याण्ड र बेल्जियमबीच प्रतिस्पर्धा हुँदै छ । शनिवार हुने खेलमा बेल्जियम विरुद्ध मैदान उत्रदा इंग्ल्याण्डको एउटै लक्ष्य हुनेछ, समूह चरणमा व्यहोरेको हारको बदला लिँदै प्रतियोगिताको सुखद अन्त्य गर्ने। समूह जी मा रहेका दुवै टोलीले समूह चरण अन्तर्गत आफ्नो अन्तिम खेलमा प्रतिष्पर्धा गरेका थिए, जसमा बेल्जियम १–० ले विजयी भएको थियो। २८ वर्षपछि विश्वकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेकोे इंग्ल्याण्डको ५२ वर्षपछि फाइनल यात्रा तय गर्ने सपना क्रोएसियाले चकनाचुर पारेको थियो। क्रोएसिया विरुद्धको दोश्रो सेमिफाइनल खेलमा इंग्ल्याण्डले खेलमा अग्रता बनाएपनि क्रोएसियाको उत्कृष्ट पुनरागमनमा इंग्ल्याण्ड २–१ को नमिठो हार व्यहोर्न बाध्य भएको थियो। यता सन् १९८६ मा पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्थान बनाएको बेल्जियमको पहिलो पटक फाइनल पुग्ने सपना फ्रान्ससँगको पराजयसँगै सकिएपछि बेल्जियम पनि विश्वकप फुटबल प्रतियोगिताको इतिहासमै पहिलो पटक तेश्रो स्थान हासिल गर्ने दाउमा हुनेछ। सन् १९८६ मा अर्जे्न्टिनासँग भएको सेमिफाइनल खेलमा २–० ले नतिजा सुम्पेको बेल्जियम तेश्रो स्थानकालागि भएको खेलमा फ्रान्ससँग ४–२ ले पराजित हुँदै चौथौ स्थानमा चित्त बुझाउन बाध्य भएको थियो। फुटबल इतिहासमा यी दुई टोलीबीचको खेल हेर्ने हो भने इंग्ल्याण्ड बेल्जियम विरुद्ध हावी हुँदै आएको छ। जारी विश्वकपको समूह चरणमा इंग्ल्याण्ड विरुद्ध बेल्जियमले निकालेको जित ८२ वर्षपछिको पहिलो जित थियो। बेल्जियमले यसअघि सन् १९३६ मा भएको मैत्रिपूर्ण खेलमा इंग्ल्याण्डलाई ३–२ ले पराजित गरेको थियो। शनिवार हुने यी दुई टोलीबीचको खेल रुसको सेन्ट पिटर्सवर्ग रङ्गशालामा नेपाली समय अनुसार पौने ८ बजे हुनेछ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice