च्याम्पियन्स लिगः लिभरपुल बेलग्रेडसंग २–० गोल अन्तरले पराजित

काठमाण्डौ । इंग्लिश क्लब लिभरपुल युईएफए च्याम्पियन्स लिग फुटबलमा पराजित भएको छ । मंगलबार राति भएको समूह चरणको चौथो खेलमा लिभरपुल सर्बियन क्लब रेड स्टार बेलग्रेडसंग २ – ० ले पराजित भएको हो । घरेलु मैदानमा लिभरपुललाई स्तब्ध बनाउन मिलान पाभकोभले दुई गोल गरे । पहिलो हाफमा पाभकोभले नायक बनेपछि लिभरपुलले हार व्यहोरेको हो ।

पहिलो हाफको २२ औं मिनेटमा पाभकोभले गोल गर्दै बेलग्रेडलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि खेलको २९ औं मिनेटमा पाभकोभले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा बेलग्रेड २ – ० ले अघि रह्यो । दोस्रो हाफमा लिभरपुल खेलमा फर्कन सकेन र बेलग्रेडसंग २ – ० ले स्तब्ध बन्यो । बल पोजिसनमा पकड जमाएको लिभरपुलले पाएको मौका सदुपयोग गर्न सकेनन् । उसले बेलग्रेडको पोष्टमा आधा दर्जन बढी आक्रमण गरेको थियो ।

हारसंगै समूह सीको लिभरपुल लिगको दोस्रो स्थानमा झरेको छ । लिभरपुलले ४ खेलबाट ६ अंक जोडेको छ । लिभरपुलको दोस्रो चरणमा पुग्ने सम्भावना कायम रहेको छ । बेलग्रेड ४ खेलबाट ४ अनक जोडेर पुछारमा छ । यस समूहको शीर्ष स्थानमा इटालियन क्लब नेपोली रहेको छ । नेपोलीको पनि ६ अंक छ । तर, गोल अन्तरमा अघि रहेको छ । नेपोलीले मंगलबार राति फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) संग १ – १ गोलको बराबरी खेलेका थिए । लोरेन्जोले एक गोल फर्काएका थिए । खेलमा जुवान बर्नाटले गोल गर्दै पिएसजीलाई पहिलो हाफमा सुरुवाती अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा नेपोलीका लोरेन्जोले पेनाल्टीमा गोल गर्दै खेल १ – १ को बराबरी बनाएका थिए । यस समूहमा ४ खेलबाट ५ अंक जोडेको पिएसजी तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search