जथाभावी सडक खन्दा पहिरो र भुक्षयको जोखिम उच्च

म्याग्दी। कमजोर भुबनोट रहेको म्याग्दीमा जथाभावी रूपमा खनिएका सडकका कारण पहिरो, कटान र भुक्षयको समस्या बढेको छ । प्राविधिक र वातावरणीय पक्षलाई बेवास्ता गर्दै एस्काभेटर, ब्याकलोडरजस्ता हेभी इक्युपमेन्ट प्रयोग गरेर सडक निर्माणका क्रममा निकालिएको माटो र पानीको व्यवस्थापन नहुँदा विपत्को जोखिम बढाएको हो ।

उपकरणको कम्पनले खलबलिएको जमीन बर्खाको पानीले गलेर बग्ने, सडकमा सङ्कलन हुने पानीले खोल्सा बनाउने, माटो बगाउँदा वरपरका बस्तीमा पहिरो खस्ने, जमीन भासिने, भुक्षय हुने, नदीमा बाढीको आयातन बढेर कटान गर्ने क्रम बढेको जिल्ला भु–संरक्षण अधिकृत दिवाकर पौडेलले बताए । उपभोक्ता समितिले सडकको नयाँ ट्याक बनाउँदा पर्खाल लगाउने, वृक्षरोपण गर्ने, भल व्यवस्थापनका लागि नाली बनाउने र माटोको व्यवस्थापनमा ध्यान नदिँदा पहिरोको समस्या बढेको पौडेलले जानकारी दिए ।

 

वातावरणीय र प्राविधिक पक्षलाई ध्यान नदिएर पाखो जमीनमा जथाभावी खनिएका सडक दिगो नहुने, लगानी खेर जाने, अवरुद्ध बनेर सर्वसाधारणले सुविधा नपाउने, बस्ती, खानेपानी, सिँचाइ, भवन पूर्वाधारमा क्षति पुगेको छ । बजेट सक्ने उद्देश्यले आर्थिक वर्षको अन्तमा डोजर डुलाएर पाखो खन्ने प्रवृत्तिले विपत् बढाएको मालिका गाउँपालिका–१ घोर्सीका मानसिंह सापकोटाको गुनासो छ। दरवाङ–निस्कोट सडक खनिएपछि केही वर्षयता घोर्सी गाउँ पहिरोको जोखिममा परेको छ । वर्षातसँगै अधिकांश ग्रामीण सडक अवरुद्ध हुँदा आवतजावत र ढुवानी प्रभावित बनेको छ । पहिरो र भुक्षयका कारण म्याग्दीबाट वार्षिक ५० लाख घनमिटर माटो बगेर जाने गरेको जिल्ला भुसंरक्षण कार्यालयले जनाएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice