दशरथ रंगशालामा भुकम्पपछि पहिलो पटक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुँदै

काठमाडौँ । २०७२ सालको महाभुकम्पपछि जिर्ण बनेको दशरथ रंगशालामा आउँदो माघमा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता हुने भएको छ। मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा माघ ९ गतेदेखि १९ गतेसम्म ‘मदन भण्डारी इन्टरनेशनल फुटबल प्रतियोगिता–२०१९’ हुन लागेको हो।

भुकम्पले रंगशालामा जिर्ण भएपछि पुर्ननिर्माणको काम भईरहेकाले कुनैपनि प्रतियोगिता हुन सकेका थिएनन्। प्रतियोगितामा नेपालका रातो र निलोसहित दक्षिण कोरिया, भुटान, बंगलादेश, भारत, थाइल्याण्ड र चीनका टोलीहरु सहभागी हुने आयोजकले जनाएको छ।
आयोजक समितीका सदस्य तथा अखिल नेपाल फुटबल संघ९एन्फा०का मानार्थ अध्यक्ष टासी घलेले आफूहरुले ती देशलाई सके राष्ट्रिय टोली नभए यू–२३ स्तरको टोली पठाउन भनेको बताए।

‘रंगशालामा भुकम्पले क्षति पुगेपछि नेपालमा विदेशी टोली आएर खेलेका छैनन्,’ घलेले भने, ‘यस प्रतियोगिताले नेपाललमा पुनः विदेशी टोली ल्याएर खेल्ने वातावरण निर्माण गर्दैछ। आगामी वर्षहरुमा एन्फाको वार्षिक क्यालेन्डरमै राखेर प्रतियोगितालाई नियमितता दिइनेछ।’

पहिलो पटक आयोजना हुन लागेको प्रतियोगिता एक करोड पचास लाखको लागतमा हुन लागेको आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताले २५ हजार अमेरिकी डलर तथा उपविजेताले १० हजार अमेरिकी डलर पाउनेछन्।

यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, मिडफिल्ड र प्रशिक्षकलाई समान १–१ हजार अमेरिकी डलर प्रदान गरिने आयोजकले जनाएको छ।

आयोजकले दशरथ रंगशालामा खेल गर्ने घोषणा गरेपनि पुर्नः निर्माणको काम चलिरहेकाले निर्धारित समयमा खेल हुने हो कि हैन् भन्ने शंका छ।

तर, आयोजक कमिटीका अध्यक्ष समेत रहेका एकेडेमीका अध्यक्ष विनोद भण्डारी भने ९९ प्रतिशत खेल दशरथ रंगशालामै हुने एक प्रतिशत नभएर विकल्प खोजिने बताउँछन्।

‘हामीले पटक–पटक राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिवसँग कुराकानी गरेका छौं,’ श्रेष्ठले भने, ‘उहाँहरुले दशैपछि रंगशाला तयार हुने प्रतिबद्धता जनाएपछि हामीले यसअघि नै गर्न लागेको प्रतियोगिता पछि सारेका हौं। आफूहरुको जनशक्ति प्रयोग गरेर भएपनि प्रतियोगिता रंगशालामै गराउँछौं।’

यसअघि एकेडेमीले सेप्टेम्बरमा प्रतियोगिता आयोजना गर्ने भनेपछि रंगशाला निर्माण भइनसक्ने भएकाले जनवरीका लागि मिती तय गरेको थियो। आफूहरुले अन्तर्राष्ट्रिय प्रतियोगिता गर्ने भएपछि सम्बन्धित निकायले रंगशाला निर्माणमा तदारुपता देखाउने विश्वास लिएको छ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search