दार्चुलाका भेडा–च्याङ्ग्रा काठमाडौँमा

दार्चुला। दशैँ तिहारका लागि दार्चुलाबाट करीब ७ सय ५० भेडा–च्याङ्ग्रा पोखरा तथा काठमाडौँ निर्यात गरिएको छ । जिल्लामै भेडा खसीको मासु अभाव भइरहेका बेला अपिहिमाल, मार्मा, नौगाड गाउँपालिका र शैल्यशिखर नगरपालिकाबाट भेडा–च्याङ्ग्रा निर्यात गरिएको गोकुलेश्वरस्थित ट्राफिक प्रहरी पोष्टले जनाएको छ ।

जिल्ला पशु शाखा कार्यालयले स्वास्थ्य परीक्षण प्रतिवेदन दिएपछि २ सय ६० भेडा, तथा स्कालिम जातका ४ सय ७३ च्याङ्ग्रा ढुवानी गरिएको पशु चिकित्सक मोहनदेव भट्टले बताए । विगतमा तिब्बतबाट भेडा–च्याङ्ग्रा आयात हुने गरेकामा पछिल्लो समय दार्चुलाबाटै बाह्य जिल्ला निर्यात हुन थालेको उनको भनाइ थियो ।

यस वर्ष तिब्बतेली भेडा–च्याङ्ग्रा हालसम्म आयात नभएको व्यास गाउँपालिका वडाअध्यक्ष अशोकसिंह बोहराले बताए । व्यापारीले जिल्लाबाट ७० हजार भाडा तिरेर भेडा च्याङ्ग्रा पोखराका लागि ढुवानी गरेको ट्रक व्यवसायी मोहनसिंह ऐरीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search