देउसी भैलोलाई आधुनिकताले आक्रमण गर्यो, हराउदै गए मौलिक संस्कृत

काठमाडौँ । हिजो आज गाउँ तथा शहर जताततै देउसीभैलोको रौनक चलि रहेको छ । क्लव, समूह, सहकारि, स्कुल देखि लिएर संचार संस्थालाइ पनि देउसीभैलोले छोएको छ ।

बालक, युवा र वृद्धसम्म तिहारको देउसीभैलोमा झुमिरहेका छन् । तर यहि क्रममा देउसीभैलोको मौलिकता हराउदै गएको भन्दै कतिपयले चिन्ता समेत व्यक्त गर्ने गरेका छन् ।  तिहारको समयमा खेलीने देउसी भैलोको मौलिकता हराउदै गएको छ । प्रबिधिको विकास र आधुनीकताको प्रवेशले देउसी भैलोको मौलीक पक्ष ओझेलमा परेको हो। परम्परागत देउसीभैलोमा पछिल्लो समय आधुनिकताले आक्रमण गरेको पाइएको छ ।

विशेष गरि युवायुवतीमा आधुनिकताको भुत चढ्दा देउसी भैलोको मोलीकता मेटिने चिन्ता बुढापाकाहरुले गर्न थालेका छन् । मादल, बासुरि, खैजडि लगाएतका बाध्यवाधनका माध्ययमबाट दाजुवहिनीको कथाव्यथाहरु प्रस्तुत हुने देउसीभैलो हिजो आज चर्को आवाजका आधुनिक साउण्ड सिस्टममा सिमित हुँदा चिन्ता बढ्दै गएको छ ।

विशेष गरि तिहारको अवसरमा नाचीने सोरठी, पैस्यारु, टप्पा, वनगारि लगाएतका नाचहरु पछिल्लो समय हराउदै गएका छन् । आफैं गाउने, बजाउने र नाच्ने उति बेलाको देउसी भैलोमा आफ्नै मौलिकता थियो । आज भोलि रेकर्ड गरिएका गीत बजाएर नृत्य देखाउने गर्दा देउसी भैलोको वास्तवीकता ओझेलमा परेको हो ।

अझ त्यसैमाथी हिन्दी, अंग्रेजी र उत्ताउला शैलीका रिमीक्स गितमा गरिने नृत्यले देउसी भैलोको महत्व र भाव देखीन छाडेको समाजका बुढापाकाहरुले बताउने गरेका छन् । हरेक क्षेत्रमा आधुनिकीकरणको प्रभाव परिरहेको अवस्थामा देउसी भैलो पुरानै शैलीमा खेल्नुपर्छ भन्ने तर्क ठीक नहुन पनि सक्छ ।

यद्यपि देउसी भैलोको खास महत्व र मर्म नै हराउने गरी आधुनिकीकरण गर्न नहुने आवाज उठिरहेको पाईन्छ । तिहारमा विशेष गरेर पहिले पहिले देउसी भैलो खेल्नकालागि नेपाली मौलिक बाजा मादलको प्रयोग गरिन्थ्यो । तिहारलाई लक्षित गरी बनाइएका मादलहरुको त्यो समयमा निकै राम्रो व्यापार हुने गर्दथ्यो । तर पछिल्ला दिनमा आएर यो चाँड मनाउने शैलिमा पनि फेरबदल आइसकेको छ ।

पछिल्ला दिनहरुमा बदलिदो सांगितीक माहोल संगै युवापुस्ताहरुमा विदेशी र पश्चिमा संस्कृतीको छाप पर्दै जादा नेपाली मौलिक परम्पराका बाध्यबादन प्रतिको मोहनै मर्दै गएको छ । बढ्दो आधुनिकता संगै इन्टनरनेटको सुविधा सर्वसुलभ हुदै जाँदा नेपाली मौलिक परम्पराका लोक संस्कृतिहरु लोपन्मुख हुदै गएका छन । बडदो आधुनिकताले विकशित गितसंगितहरु प्रति युवापूस्ताको झुकाब बढ्दै गएको छ ।

केहि वर्ष अघिसम्म पनि तिहार शुरु भएसंगै गाँउ, घर तिर जताततै मादलले गुन्जयमान बनाउने गर्दथ्यो । अनि तेहि मादलको तालमा बाल, बृद्ध तथा युवा तन्नेरीहरुपनि देउसी, भैलो र तिहारका गित गाएर रमाउने गर्दथे ।

पुरानो पुस्ता बलि राजाको गाथासहितको परम्परागत देउसि भैलो मन पराउँछन् । परिवारलाई आशिष दिँदै कम्मर मर्काइमर्काइ मादल, खैजेरीको तालमा नाचेको दृश्य नै रमाइलो लाग्ने गरेको बुढापाकाहरुले बताउने गरेका छन् । तर पछिल्लो समय त्यस्तो परम्परा हराउदै गएको छ ।

सहरदेखि गाउँसम्म देउसी भैलो खेलिरहेको अधिकाँश समूहले रेकर्ड गरिएका गीतहरुमा नृत्य देखाउने र केही औपचारिकताको लागि मात्रै देउसी भैलो गाउने गर्नाले बुढापाका मात्रै नभएर कसैलाई पनि यो यस्तो गरेको मन परेको छैन् । आधुनिकताको प्रभाव बढेसँगै देउसी भैलोको उद्देश्यहरु पनि फेरिएका छन् । परम्परागत रुपमा मनोरञ्जनका लागि खेलिने देउसी भैलो पछिल्लो समय सामाजिक कामका लागि आर्थिक सङ्कलन गर्ने प्रभावकारी माध्यम बनेको छ ।

आर्थिक अवस्था कमजोर रहेका बिरामीको उपचारार्थ, सामुदायिक विद्यालय सञ्चालनार्थ, विभिन्न अक्षयकोष स्थापनार्थ, सामाजिक तथा सार्वजनिक महत्वका सङ्घ संस्थाको संस्थागत विकास लगायतको उद्देश्य राखेर देउसी भैलो खेल्ने परिपाटीको विकास भएको छ ।

धार्मिक ग्रन्थहरुका अनुसार भगवान विष्णुबाट यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस भनी घरघरमा गाउन लगाएको सम्झनामा देउसी भैलो खेल्ने चलनको सुरुवात भएको पाइन्छ ।

देउसी भैलोलाई मनोरञ्जनसँगै सामाजिक काममा सहयोग जुटाउनुलाई सकारात्मक पक्ष मानिए पनि तर कहीँ कतै जबर्जस्ती चन्दा उठाउने गरेको, तोकेरै पैसा असुल्ने, युवायुवती मदिरा सेवन गरेर अश्लिल गीतमा नाच्ने गरेको गुनासाहरु पनि बढ्न थालेको छ ।

त्यसैले परम्परागत चाडपर्वलाई आफ्नो मौलिकता नहराउने गरी मनाउने परिपाटी बसाल्न सके यसको ऐतिहासिक मर्म र महत्वले जीवन्तता पाउने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search