पहिरोका कारण अवरुद्ध रहेको धुन्चे– स्याफ्रुबेसी सडक संचालनमा

काठमाण्डौं । गत भदौ २५ गतेदेखि अवरुद्ध धुञ्चे–स्याफ्रुबीच खोपाङ भिरको सडकखण्ड सञ्चालनमा आएको छ ।

डिभिजन सडक कार्यालयका इञ्जिनियर सरोज कडरियाका अनुसार भारी वर्षाका कारण पहिरो गई करीब १०० मिटर राजमार्ग सतहमा बसेको ठूलाठूला ढुङ्गा पन्छाइ आजदेखि नेपाल–चीनबीचको अन्तर्राष्ट्रिय राजमार्ग सञ्चालन गरिएको हो ।

उक्त ठाउँमा यही भदौ २ गते ठूलो पहिरो जाँदा भदौ १८ गते सञ्चालन भएको स्थानमा पुनः पहिरो गएको बताउँदै सडक कार्यालयका प्राविधिक अपरेटर निमा लामा र राजेश दाहालले जोखिमयुक्त क्षेत्रमा सतर्क हुन चालकलाई आग्रह गरेका छन ।

यस वर्ष राजमार्ग पहिरो हटाउन स्वतःस्फुर्तरुपमा स्काभेटर उपलब्ध गराई सहयोग गर्नुहुने रसुवागढी जलविद्युत आयोजनाका साथै पूर्वसांसद जनार्दन ढकाल र वर्तमान सांसद मोहन आचार्यलाई प्रजिअ कृष्ण पौडेलले धन्यवाद व्यक्त गरेका छन ।

गत साउन ९ गतेदेखि अहिलेसम्म सडक अवरुद्ध भइरहँदा डेढ अर्बभन्दा बढी राजश्व नोक्सान परेको भन्सार कार्यालय टिमुरेले जनाएको छ । आज राजमार्ग खुलेलगत्तै २०० भन्दाबढी सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेको र बढ्दो सवारी चापको व्यवस्थापनका लागि ठाउँठाउँमा ट्राफिक व्यवस्थापन मजबुद बनाइएको ट्राफिक प्रहरी इञ्चार्ज नवराज खड्काले जानकारी दिए ।

वर्षाको कारण बेत्रावती रसुवागढी राजमार्गको ठाउँठाउँमा खाल्टाखुल्टी धेरै भएको र पहिरो क्षेत्रको व्यवस्थापनपश्चात् क्रमशः सुधार गर्दै लगिने सडक इञ्जिनियर सरोज कडोरियाले बताए ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search