प्रदेश-२ को राजधानी जनकपुर–पटना बस सेवा शुरु

काठमाडौँ । प्रदेश-२ को राजधानी जनकपुर र भारतको विहार राज्यको पटनालाई दैनिक रुपमा जोड्ने गरी बस सेवा सुरु भएको छ।

अब दैनिक रुपमा जनकपुरबाट पटनामा ४ वटा र पटनाबाट जनकपुरमा ४ वटा बस ओहोरदोहोर गर्नेछन्। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधाम पटना नेपाल-भारत मैत्री बस सेवाको आइतबार शुभारम्भ गरे।

जनकपुर-पटनाको सडक दुरी २ सय ३२ किमी छ। त्यसको भाडादर ४ सय ४० तोकिएको छ। हरियो झण्डा देखाएर बस सेवा शुभारम्भ गर्दै मुख्यमन्त्री राउतले जनकपुरको धार्मिक पर्यटकीय विकासमा विशेष टेवा पुग्ने बताए।

शुभारम्भ स्वरुप हरियो झण्डा देखाउँदै मुख्यमन्त्री राउतले हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र जनकपुरमा भारतीय पर्यटकलाई ल्याउन ठूलो भूमिका खेल्ने बताए।

‘बस सेवाले भारत विहारको राजधानी पटना र प्रदेश-२ को राजधानी जनकपुरलाई जोडेको छ’ राउतले भने, यसले दुई देशको सम्बन्धलाई अझ प्रगाढ बनाउनेछ।’

नेपाल-भारत बीचको धार्मिक, समाजिक तथा पारिवारिक सम्बन्धलाई अझ मजबुत हुने उल्लेख गर्दै मुख्यमन्त्री राउतले बस सञ्चालनमा देखिएको अप्ठ्याराको अन्त्यका लागि नेपाल तर्फका सम्बन्धित अधिकारीहरुलाई निर्देशन समेत दिए।

जनकपुरधामको विकासको मुख्य आधार धार्मिक पर्यटन रहेको बताउँदै राउतले भारतका विभिन्न धार्मिक स्थलका साथै नेपालकै विभिन्न शहरहरुबाट समेत हवाई सेवा सञ्चालनको लागि पहल भइरहेको बताए।

पोखराबाट हवाई सेवा सञ्चालनका लागि कुराकानी भइरहेको उल्लेख गर्दै लुम्बिनी लगायतको स्थानबाट समेत हवाई सेवा सञ्चालनको पहल गरिएको जानकारी उनले दिए।

नेपाल र भारतमा रहेका ९० प्रतिशत ओमकार परिवारका व्यक्तिहरुलाई जीवनमा एक पटक जनकपुर आउनै पर्ने वातावरण बनाउन प्रदेश सरकार र स्थानीय सरकारबीच सहकार्य गरेर योजना बनाउनु आवश्यक रहेकोपनि मुख्यमन्त्री राउतले बताए।

स्वयम्भु मंजुश्री यातायात प्रालिका अध्यक्ष अनिल चालिसेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वन, पर्यटन , उद्योग तथा संस्कृति मन्त्री राम नरेश राय, राजपा संसदीय दलका सचेतक परमेश्वर साह, जनकपुरधाम उपमहानगरका प्रमुख लालकिशोर साह, प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी दिनेश आमात्य सहितको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search