प्रहरी हिरासतमै बन्दीको ज्यान गयो, आफन्तले शव बुझ्न मानेन्

काठमाण्डौ । प्रहरी हिरासतमै मृत्यु भएका संखुवासभा खाँदवारी–३ का ५२ वर्षीय रवीन्द्रकुमार ढुंगानाको शव बुझ्न आफन्तले इन्कार गरेका छन् । बैंकिङ कसुरमा पक्राउ परेका ढुंगानालाई महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले नेपालटारबाट आइतबार पक्राउ गरेको थियो ।

पक्राउ पर्दा सकुशल रहेका उनको एकाएक मृत्यु भएको भन्दै प्रहरीले खबर गरेपछि आफूहरूलाई आशंका लागेकाले शव नबुझेको आफन्तले जनाएका छन् । ढुंगानाको शव वीर अस्पतालमा राखिएको छ । ‘पक्राउ पर्दा आइतबार उनी सकुशल थिए । एकाएक सोमबार मृत्यु भएको खबर आयो । यसमा हामीलाई शंका छ । त्यसैले शव बुझेका छैनौँ,’ मृतकका भाइ शान्तिरामले भने ।

परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीका अनुसार पक्राउपछि उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतकक्षमा राखिएको थियो । सोमबार बिहान ७ बजे उनी एकाएक बेहोस भएपछि उपचारका लागि वीर अस्पताल लगियो । तर, उपचारकै क्रममा उनको मृत्यु भयो ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search