मोदी भ्रमणप्रति विपक्षीको प्रहार -‘के निहुँ पाउँ, कनिका चपाउँ ’!

सन्तोष दहाल ।


महाभूकम्पले थिलथिलिएको नेपालको भारतीय सीमामा त्यसकै केही समयपछि नाकाबन्दी लगाइदिँदा मुकदर्शक भएर त्यसको विरुद्धमा आवाजसम्म उठाउन नसक्ने नेपाली कांग्रेस र सो पार्टीका बुद्धिजीवी वर्ग अनि कार्यकर्ताहरुमा समेत अहिले त्यही नाकाबन्दी विरुद्धको आवाजहरु बुलन्द हुन थालेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट भर्खरै भएको नेपाल भ्रमणलाई अनेक शिरा र नकारात्मक शैलीबाट व्याख्या विश्लेषण गरेको कांग्रेसले आफ्नो पार्टीको सरकार हावी भएका बखत उसले भारतसंग गरेका सबै सन्धी सम्झौता र आत्मसमर्पणवादलाई चाहिँ किन त्यही रूपमा व्याख्या गर्न सकेनन्, सन्दर्भ सोचनीय छ ।

कांग्रेस समर्थकले सामाजिक सञ्जाललगायतमा देखाएका आक्रोशका भावनाहरु हेर्दा लाग्छ, केपी ओलीको कार्यकालमा नेपाल र नेपालीको अस्तित्व माटोमै मिल्नेछ र हालसम्मको उपलब्धि पनि नेपाली कांग्रेसको मात्र देन हो । निर्वाचनमा भएको अनपेक्षित पराजयपश्चात सरकारमा रहन नपाउनुको पीडा र केपी ओलीलाई विरोध गर्नको लागि ठोस अश्त्र नपाईरहेको कांग्रेसलाई मोदीको भ्रमण र उनीमाथिको नागरिक अभिनन्दन ‘के निहुँ पाउँ,कनिका चपाउँ’ जस्तै भएको छ।

सबै क्षेत्रका पत्रकार,लेखक,नेता,कार्यकर्ता,बुद्धिजीवी, पेसाकर्मी तथा नागरिक अधिकारकर्मीको विरोध र जंगली रुवाईको पारा हेर्दा लाग्छ, उनीहरु सोच्दैछन्, ‘ओली सरकारको पालामा नेपाल भारत सम्बन्ध नसुध्रिए हुन्थ्यो, यो कार्यकालमा मोदी नआईदिए हुन्थ्यो त त्यही मामला निकालेर पछिसम्म यिनीहरुको खोइरो खन्न पाईयोस’ भनेर। उनीहरुले सोचेका थिए, ओली लुरुक्क परेर भारत गईरहे तापनि त्यति सजिलै मोदीले नेपालको मामलालाई भाऊ दिनेछैनन । तर परिस्थिति उल्टो देखिन थालिएको छ । भारत भ्रमणबाट ओली फर्किएको महिना दिन हाराहारीमै भारतीय समकक्षी नरेन्द्र मोदी पनि नेपाल भ्रमणमा आए, धार्मिक तीर्थयात्रा गरे,नेपाल र ओली सरकारको प्रशंशा नै गरे, विगतमा तिक्ततापूर्ण देखिएको दुई देशबीचको सम्बन्ध सुधार्न हरदम प्रयत्न गरे र फर्किए । विगतमा प्रधानमन्त्रीका रुपमा ओलीले भारतीय नाकाबन्दीको दृढतापूर्वक सामना गर्दा ‘भारतसँगको सम्बन्ध बिगार्‍यो’ भन्ने यी बुद्धिजीवीहरुलाई अहिले सपार्दा झन् औडाहा भएको छ ।

यद्यपि मोदीलाई प्रदान गरिएको नागरिक अभिनन्दनको विषयमा आम नागरिकबाट पनि सवालहरु उठिरहेकै छन् । हुन पनि मोदीलाई नागरिक अभिनन्दन दिईहाल्नु आवश्यक चाहिँ थिएन। न त यस किसिमको अभिनन्दन भारत भ्रमणमा गएका नेपाली नेताहरुलाई दिईएको थियो । उनी धार्मिक यात्रामा आएको भनिएको थियो,त्यसमै रमाउन दिनुपर्थ्यो, नेपाली संस्कारअनुसारको मानसम्मान दिएको भए पुग्थ्यो । केही सरकारी वार्ता, वक्तव्यका कामहरु त छँदै थिए। तर नागरिक अभिनन्दन नै गराउनु चाहिँ आवश्यक थिएन । क- कसलाई कस्तो अवस्थामा नागरिक अभिनन्दन दिने भन्ने कुराको प्रोटोकल बनाउनु पर्थ्यो, यो हो कि नागरिक अभिनन्दन राष्टपतिमा सीमित हुनुपर्थ्यो,कार्यकारीमा होइन ।

यो भ्रमणमा एजेण्डाकै रूपमा कुनै पनि विवादास्पद र चर्को विरोध नै गर्नुपर्ने कुराहरु बाहिर आएका छैनन् । नेपालले आफ्ना प्राथमिकता र जोडका बारेमा राम्ररी कुरा राखेको छ। १३ बुँदे संयुक्त वक्तव्य बोझिला औपचारिक शब्दहरुले भरिएको छैन, बरु त्यसले समय सीमासहितका केही प्रतिबद्धता बोकेको छ। सम्झौता हुने, कार्यान्वयन नहुने रोगबाट आक्रान्त नेपाल–भारत सम्बन्धलाई अलिकति भए पनि यसले गति दिने विश्वास गर्न सकिन्छ। तर कांग्रेस निकटस्थहरुबाट यस्ता अपाच्य शब्दहरुसमेत बाहिर आए कि, राष्ट्रवाद र ओली सरकारको चरित्रमाथि भद्दा मजाक उठाईयो । ‘ओलीको राष्ट्रवाद पनि देखियो, लम्पसारवादको नयाँ नमुना, राष्ट्रवादको धोती खुस्कियो’ भन्ने जस्ता अभिव्यक्तिहरु खासगरी कांग्रेस निकट बृत्तबाट यसपटक सहनै नसक्ने गरी प्रकट भए। आफ्नो निम्तो मानेर आएका पाहुनालाई स्वागत सत्कार गर्नु सरकारको कर्तव्य थियो, र कांग्रेस सरकारमा भए पनि उसले त्यही गर्थ्यो,गर्नु पर्थ्यो र एमाले माओवादीले पनि त्यसको विरोध गर्न मिल्दैनथ्यो। त्यही विषयलाई लिएर अहिले ओलीको राष्ट्रवादमाथि प्रश्न उठाउनेहरुलाई सत्तामा नहुनुको पीडा र कुण्ठाग्रस्तबाहेक केही भन्न सकिन्न।

कांग्रेसको नेतृत्वमा सरकार हुँदा पनि नेपाली प्रधानमन्त्रीको भारत भ्रमण भएकै थियो, मोदी पनि उतिबेला नेपाल आएकै थिए। तर यतिबिघ्न आह्रिस चाहिँ त्यतिबेलाका प्रतिपक्षीहरुले प्रदर्शन गरेका थिएनन । अहिलेको भ्रमणले ओलीमाथि जुन नकारात्मक प्रहार गरिएको छ,त्यसले ओली स्वयंको चरित्रमा आघात पार्ला नपार्ला, तर समग्र नेपाल र नेपालीको चरित्र र पहिचानामा चाहि पक्कै नकारात्मक आघात पुर्याउछ ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search