यस वर्ष जिब्रो छेड्दै बालक, जात्राको विधि शुरु

भक्तपुर। विसं २०६३ देखि रोकिएर गत वर्षदेखि शुरु भएको थिमिको जिब्रो छेड्ने जात्रालाई निरन्तरता दिन यस वर्ष मध्यपुरथिमी–५, चोडेका ४० वर्षीय बालकराम श्रेष्ठले जिब्रो छेड्ने भएका छन्। चेंया पुन्हिया मेय प्वा: खनेगु जात्रा व्यवस्थापन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले लोप हुन लागेको जात्रा र परम्परालाई जीवित राख्न आफूले यस वर्ष जिब्रो छेड्न लागेको बताए।

स्थानीय युवाको पहलमा गत वर्ष बालकुमारीका २९ वर्षीय वीरेन्द्रभक्त गजु श्रेष्ठले जिब्रो छेडेर रोकिएको जात्रालाई पुनःसञ्चालनमा ल्याएपछि यस वर्ष पनि जात्रालाई निरन्तरता दिन श्रेष्ठ तयार भएका हुन्। श्रेष्ठले आफ्ना काका कृष्ण नानिचा श्रेष्ठले तीन पटकसम्म जिब्रो छेडेकाले आफू पनि यो जात्रा नरोकियोस् र निरन्तरता पाओस् भनेर जिब्रो छेड्न तयार भएको बताए । वीरेन्द्रभक्तले यस वर्ष आफ्ना पिताको आशोच बारेकाले जिब्रो छेड्न नहुने भएपछि बालक तयार भएका हुन् । जिब्रो छेडाउने व्यक्ति मध्यपुरथिमिको श्रेष्ठ थरकै हुनुपर्ने प्रचलन छ ।

भाद्र शुक्लपक्ष पूर्णिमाको साँझ जिब्रो छेडाएर सञ्चालन हुने जात्राका लागि आवश्यक पर्ने सियो बनाउन शुक्रबार सियो बनाउनेकर्मी नाय रामभक्त नकर्मीलाई पूजा लगेर भोज खुवाएपछि सियो निर्माण शुरु भएको छ । सियो निर्माण सकिएपछि करीब ४५ दिन फलामको १० इञ्च लामो सियोले जिब्रो छेडाउने प्रचलन छ । सियोलाई तेलमा डुबाएर राख्ने प्रचलन छ ।

 

प्रतिक्रिया दिनुहोस्
X
Type to search