संसदीय दलको नेता छान्न राजपा चुनावको तयारीमा, महन्थ ठाकुर र राजेन्द्र महतोको प्रतिस्पर्धा

काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संसदीय दलको नेताका लागि सहमति जुट्न नसकेपछि चुनावको तयारी गरेको छ ।
संघीय संसदको तेस्रो ठूलो दल राजपामा संसदीय दलको नेताका लागि संयोजक महन्थ ठाकुर र अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो आकांक्षी रहेका छन् । दुबै नेताबीच सहमति हुन नसक्दा संसदीय निर्वाचन सम्पन्न भएको लामो समय बित्दा समेत राजपाले संसदीय दलको नेता चयन गर्न सकेको छैन् ।

हालै सम्पन्न राजपाको राजनीतिक समितिको बैठक र संसदीय दलको बैठकले सहमतिमै संसदीय दलको नेता चयन गर्न दबाब दिएको थियो । तर बिहीबारको अध्यक्ष मण्डलको बैठकमा पनि नेताद्वयबीच सहमति हुन सकेन । सहमति हुन नसक्दा संयोजक ठाकुर बैठकबाट बाहिरिएका थिए । त्यसलगत्तै महतो पनि बाहिरिए । अन्य चार जना अध्यक्षहरुले छलफल गरेपनि सहमति हुन सकेको छैन् ।

ठाकुर पक्षले सहमति मै संसदीय दलको नेता चयन गर्न दबाब दिदैछ, भने महतो पक्ष निर्वाचनमा जाने तयारी गर्दै आएको छ । यसैबीच ठाकुर पक्षले प्रतिनिधि सभाको संसदीय दलको निर्वाचनमा राष्ट्रिय सभा सदस्यहरुले पनि मतदान गर्न पाउनु पर्ने दाबी गरेको छ जसको विरोध महतोले गरिहेका छन् ।

यस्तै प्रतिनिधि सभामा १७ सांसद रहेको राजपामा आफ्नो पक्षमा बहुमत सांसद रहेको महतो पक्षको दावी छ । महतोको पक्षमा महतोसहित, शरतसिंह भण्डारी, लक्ष्मणलाल कर्ण, रेशमलाल चौधरी, रानी मण्डल, प्रमोद साह, निर्जला राउत, नरमाया ढकाललगायत ९ जना रहेको दाबी गरिएको छ ।

यता ठाकुरको पक्षमा महेन्द्र राय यादव, अनिल कुमार झा, राजकिशोर यादव, दुलारीदेवी खत्वे, चन्द्रकान्त चौधरीलगायतको रहेको दाबी गरिएको छ । ठाकुर पक्षले आफूहरुसँग पनि बहुमत रहे पनि सहमतिमा जाने पक्षमा रहेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search