सिन्धुपाल्चोकमा जीप दुर्घटना, मृत्यु हुनेको संख्या पाँच पुग्यो

चौतारा । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका सल्लेमा भएको जीप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ ।मेलम्चीबाट भोताङ जाँदै गरेको लु १ च ९९९ नम्बरको जीप बिहीबार साँझ थाङपालकोट र थाङपालधापको सिमानामा पर्ने फ्याफुला डाँडामा दुर्घटना भएको थियो । तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने दुई जनाको उपचार गर्न लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
मृत्यु हुनेहरुमा भोताङका ७५ वर्षीय भिमबहादुर तामाङ, ५५ वर्षीय जयरामी तामाङ र ५३ वर्षीय नानी तामाङले घटनास्थलमै ज्यान गुमाए भने ५६ वर्षीय बोधोम तामाङ र २५ वर्षीया सुनमाया तामाङको उपचारको लागि लैजाँदै गर्दा मृत्यु भएको हो ।
दुर्घटना भएको जीपभन्दा पछाडि आइरहेको एउटा ट्रकमा राखेर घाइतेहरुलाई मेलम्ची पुर्‍याइएको थियो । घाइतेहरुलाई मेलम्चीबाट शुक्रबार बिहानपख साढे २ बजे काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारको लागि पठाइएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक परशुराम मल्लले जानकारी दिए । घाइतेहरुमध्ये चालकको अवस्था गम्भीर छ ।
जीपमा प्राविधिक गडबडी भई चल्दाचल्दै स्टार्ट बन्द भएपछि सडकबाट करिब चार सय मिटर तल खसेको थियो । प्रहरी र स्थानीयबासीले घाइतेहरुको उद्धार गरेका थिए । तर, पानी परेकाले बाटो बिग्रिएको र बेलुकाको समय भएकाले उद्धार कार्यमा समस्या भएको थियो । घाइतेहरुको उद्धारको लागि राति नै नाइट भिजन हेलिकप्टर आए पनि खराब मौसमको कारण फर्किएको थियो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice