सुर्खेतका सबै स्थानीय तहमा बैक स्थापना, सेवा लिन नागरिकलाई सहज

सुर्खेत । सुर्खेतका नौं वटै स्थानीय तहरुमा बैंकहरु स्थापना भएका छन् ।

नेपाल राष्ट्र बैंकले वित्तीय संस्थालाई स्थानीय तहमा केन्द्रित भएर सेवा प्रदान गर्न निर्देशन दिएसंगै सुर्खेतका नौं वटै स्थानीय तहहरुमा बैंकहरु स्थापना भएका हुन् ।गाउँगाउँसम्म बैंकहरु पुगेपछि स्थानीय तहको कामसंगै गरिकहरुलाई समेत सेवा लिन सहज भएको छ ।

प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर केन्द्रित बैंकहरु जिल्लाका सबै स्थानीय तहहरुमा स्थापना भएर सञ्चालनमा आएका छन् । लेकवेशी नगरपालिकामा प्राइम कमर्सियल बैंक, गुर्भाकोट नगरपालिकामा राष्ट्रिय बाणिज्य बैंक, कुमारी बैंक र जनता बैंक, भेरीगंगा नगरपालिकामा कृषि विकास बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड र एनआईसी एशिया तथा पञ्चपुरी नगरपालिकामा कुमारी बैंक, राष्ट्रिय बाणिज्य बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक स्थापना भएर सेवा शुरु गरेका छन् ।

चार गाउँपालिका रहेको सुर्खेतको चिंगाडमा सानिमा बैंक, सिम्ता गाउँपालिकामा लक्ष्मी बैंक, बराहताल गाउँपालिकामा नविल वैंक र ग्लोबल आईएमइ बैंकको शाखारहित सेवा तथा चौकुने गाउँपालिकामा लक्ष्मी बैंक स्थापना भएका छन् । स्थानीय तह निर्वाचनपश्चात् अधिकार र कर्मचारी गाउँमा पुगेसंगै सामान्य बैंकिङ सेवा लिन सदरमुकाम आउनुपर्ने बाध्यतातको अन्त्य भएको गुर्भाकोट नगरपालिका मेयर हस्तबहादुर पुनको भनाई छ ।

स्थानीय तहमै बैंकहरु स्थापना नहुँदा सेवाग्राही मात्र नभई कर्मचारी, जनप्रतिनिधिसमेत बैंक खोज्दै वीरेन्द्रनगर धाउनुपर्ने झन्झटको अन्त्य भएको छ । लेकबेंसी नगरपालिकाका प्रमुख गगनसिं सुनारले खाता खोल्न, भुक्तानी लिन, नगद भौचर लिनसमेत सदरमुकाम आउनु पर्ने झन्झटबाट मुक्त भएको जानकारी दिए । ‘सदरमुकाम धाएर सानोतिनो कामका लागि बैंकमा लाइन लाग्दै अनावश्यक समय खर्च हुने गरेको थियो,’ उनले भने, ‘बैंकहरूले सरकारको निर्देशन त पालना गरेपछि नगरपालिकालाई मात्रै नभई स्थानीयलाई समेत सेवा लिन सहज भएको छ ।’

उनका अनुसार यसअघि नगरपालिकाको योजना भुक्तानी, सामाजिक सुरक्षा रकम लिन सदरमुकाम आउनु परेको थियो । गाउँमा बैंक नहुँदा अफिसको खाता खोल्न वीरेन्द्रनगर यस अघि धाउनु परेपनि अहिले गाउँपालिकामै बैंकहरु स्थापना भएपछि सेवा लिन सहज भएको गुर्भाकोटका मेयर पुनले बताए । उनका अनुसार बैंककै कामले कर्मचारीदेखि हामी जनप्रतिनिधिले अनावश्यक समय खर्चनु पर्ने बाध्यताको अन्त्य भएको छ ।

सदरमुकाम रहेको नगरपालिका वीरेन्द्रनगरमा भने नेपाल बैंक, वाणिज्य बैंकका साथै डेढ दर्जन बैंक छन् । पूर्वी सुर्खेतका भेरीगंगा, गुर्भाकोट नगरपालिका र पश्चिमका पञ्चपुरी नगरपालिकामा जनप्रतिनीधिहरुले पदवहाली गरेको केही महिनामै बैंकिङ सेवा पुगेको थियो ।

समयमै स्थानीय तहमा बैंक सेवा नहुँदा कर्मचारी र जनप्रतिनिधिलाई मात्र होइन, व्यवसायी, सर्वसाधारणलाई समेत मर्कामा थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice