हिन्दू महिलालाई हरितालिका तीजको हर्ष र उत्सव (फोटो फिचर)

काठमाण्डौ । हिन्दू महिलाले महान चाड हरितालिका तीज धुमधामका साथ मनाएका छन । सौभाग्यको प्रतिक रातो सारी, चुरा, पोते र गरगहनामा सजिएका महिला शिवको पूजाअर्चना गरेर वर्षभरिको दुःख विर्सेर तीजको रौनकमा रमाइरहेका छन् । नेपाली जनजीवनको सामाजिक, धार्मिक, सांस्कृतिक आदि पहिचान व्यक्त गर्ने यो पर्वले नारी शक्तिलाई बोकेको छ भने धार्मिक महत्वले यसलाई थप महत्वको पर्व बनाउँदै आएको छ ।

नेपाली समाजमा हरितालिका तीज पर्वको मौलिक स्वरूप विकास भएको हुनाले तीज विशुद्ध नेपाली पर्व हो र यो नेपालका महिलाहरूले मात्र मनाउँछन् भन्न सकिन्छ । धार्मिक, सामाजिक महत्व बोकेको पर्वले नेपालीलाई एउटै मालामा बाँध्न समेत सफल भएको छ ।

धार्मिक कथनअनुसार हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेकी र उनको व्रत पूर्ण भै महादेव पति पाएको दिनलाई हिन्दू नारीहरूले हरितालिका तीजका रूपमा मनाउँदै आएका छन् । पार्वतीले महादेवलाई श्रीमानका रूपमा पाउन १ सय ७ जन्मसम्म घोर तपस्या गरे पनि १ सय ८ औं जन्ममा मात्र उनको तपस्या पूरा भएको कुरा विभिन्न शास्त्रमा उल्लेख छ । यही मान्यतालाई अनुशरण गर्दै विवाहित महिलाले आफ्ना श्रीमानको दीर्घायु एवं अविवाहित महिलाले सुयोग्य वर पाऊँ भनी तीजको व्रत बस्ने चलन छ ।

तीजका दिन महिलाले लगाउने रातो साडी सुख, समृद्धि एवं साहसको प्रतीक मानिन्छ । रातो रंगले महिलालाई एक किसिमको शक्ति प्रदान गर्ने धार्मिक विश्वास छ । पोतेले शान्ति र आनन्द प्रदान गर्छ भने रातो टीका सौभाग्यको प्रतीक मानिछ । हृदय स्वच्छ भए मनोकांक्षा पूर्ण हुने धार्मिक विश्वास तीजको व्रतमा अन्तरनिहीत छ । न भोकको संवेदना छ न तिर्खाको सम्झना, रातो रङ्गको दिन, पवित्रताको दिन, सङ्गीतको दिनमा विभिन्न शिवालयमा पुगेका भक्तजन तीजमा रम्दा यसको महत्वलाई थप बढाएको छ ।

सम्बन्ध सुधार गर्ने, अझ प्रगाढ बनाउने तथा सम्बन्धमा भएका मनमुटावलाई प्रेममा बदल्ने पर्व हो तीज । अहिले पनि यसको आस्था र महत्व उत्तिकै छ । यो तीजले महिलाको नेतृत्व शक्ति, परिवार, समाज र राज्यमा महिलाको समान पहुँचलाई झनै शक्तिकासाथ अघि बढाउन सकोस् । देशभर महिलामाथि भइरहेको हिंसाको अन्त्यका लागि तीज थप बल प्रदान गरोस् । सबैको कामना यही छ

प्रतिक्रिया दिनुहोस्
X
Type to search