विद्युत प्राधिकरणले उपयुक्त सवस्टेसन निर्माणमा नगर्दा भारतबाट विद्युत आयातमा समस्या

काठमाडौं, २७ पुस । नेपाल विद्युत् प्राधिकरणले बढी क्षमताको सवस्टेसन निर्माण नगर्दा भारतबाट चाहेजति विद्युत् ल्याउन समस्या हुने भएको छ ।ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण कार्य अन्तिम चरणमा रहेको र आगामी माघ १६ गतेभित्र ९० मेगावाट विद्युत् आयात हुने बताइए पनि प्राधिकरणले ठूलो क्षमतामा सवस्टेसन निर्माण नगर्दा मागअनुसारको विद्युत् ल्याउन नसकिने भएको हो । प्राधिकरणले ढल्केबरमा निर्माण गरेको सवस्टेसनको क्षमता १३२ केभीको मात्रै रहेको छ । कम्तीमा पनि ४४० केभी क्षमताको सवस्टेसन निर्माण भएको भए भारतबाट तत्काल नै एक हजार मेगावाट बढी विद्युत् ल्याउन सकिने थियो । ढल्केबरमा हाल रहेको सवस्टेसनको क्षमता असाध्यै कम भएका कारण आगामी माघ १६ गतेबाट केवल ९० मेगावाट मात्रै विद्युत् ल्याउन सकिने स्थिति रहेको छ । भारतले थप विद्युत् दिन्छु भन्दा पनि लिन नसकिने स्थिति सवस्टेसनकै कारण पैदा भएको हो । “आगामी माघ १६ गते जोडिने ९० मेगावाट विद्युत् १३२ केभीको सवस्टेसनमा मात्रै चार्ज गर्न सकिने अवस्था छ, हामीसँग बढी क्षमताको सवस्टेसन छैन”–ऊर्जा मन्त्रालयका सहायक प्रवक्ता गोकर्णराज पन्थले भने, “हामीले बढी विद्युत् ल्याउन सक्ने अवस्थामा पनि सवस्टेसनका कारण तत्काल असम्भव हुने भएको छ ।”भारतले नेपाललाई आवश्यक पर्ने जति पनि विद्युत् दिन तयार रहेको जनाउँदै आएको छ । कुल ४४० केभी क्षमताको प्रसारण लाइन निर्माण भइरहेको भए पनि नेपाल प्रवेश गर्ने मार्ग नै साँघुरो र कम क्षमताको भएका कारण समस्या भएको हो । ढल्केबरमा कम्तीमा पनि ४४० केभी क्षमताको विद्युत् प्रवाह धान्ने सवस्टेसनको जरुरत पर्दथ्यो । प्राधिकरणले सवस्टेसनको क्षमता वृद्धिको योजना राखे पनि हालसम्म अगाडि बढ्न सकेको छैन । भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले भारतबाट नेपालमा जारी विद्युत्भार कटौती गर्न सक्ने क्षमता बराबरको विद्युत् आयात गर्न सकिने भए पनि प्रसारण लाइन र सवस्टेसनको क्षमता कम भएका कारण द्विपक्षीय कुराकानी अगाडि बढाउन नै समस्या भएको बताए । उनले भारतका विभिन्न कम्पनीसँग कुराकानी गर्दा नेपाललाई आवश्यक पर्ने विद्युत् उपलब्ध गराउन तयार रहेको आफूले पाएको जानकारी दिए ।  महँगोमा पेट्रोलियम पदार्थ खरिद गर्नुभन्दा विद्युत् खरिद गर्नु नै नेपालको समग्र हितमा हुने भएकाले त्यसतर्फ पाइला चाल्नु आवश्यक रहेको उल्लेख गर्दै राजदूत उपाध्यायले भने, “मैले प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेतासँग पनि सो विषयमा कुराकानी गरेको छु ।”प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा वर्षायाममा ७८५ मेगावाट विद्युत् प्रवाह हुने गरेको भए पनि अधिकांश आयोजना नदी प्रवाहमा आधारित रहेका कारण हिउँदमा ३१० मेगावाट मात्रै उपलब्ध हुने गरेको छ । भारतबाट हाल २३५ मेगावाट विद्युत् आयात भइरहेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice