
काठमाडौं, १३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको ४० मिनेट ‘वान टु वान’ संवादमा हिन्दुराष्ट्र नेपालको कुरा उठेको राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताएका छन् । ‘वान टु वान’ संवादमा भारतीय प्रधानमन्त्री ओलीले नेपालको संविधानमै हिन्दुराष्ट्र हुनु पर्ने चाहाना आफ्नो भारतीय जनता पार्टीको रहेको बताएका थिए ।
प्रधानमन्त्री ओलीले आफु हिन्दुराष्ट्रको विपक्षमा नभएको तर हाल अंगिकार गरेको राजनीतिक प्रणाली अलि फरक भएका कारण तत्काल हिन्दुराष्ट्रमा जान कठिनाई भएको जानकारी मोदीलाई गराएका थिए । वान टु वान संवादमा हिन्दुराष्ट्रको मुद्दामा बढि छलफल भएको प्रधानमन्त्री ओलीले भ्रमण दलका मन्त्रीहरुसँग बताएका थिए । ‘दुई प्रधानमन्त्री ओली र मोदीबीचको ‘वान टु वान’ संवादमा बढि समय हिन्दु राष्ट्रका बिषयमा छलफल भएको हामीलाई प्रधानमन्त्रीले बताउनु भएको छ’ राप्रपा नेपालका अध्यक्ष समेत रहेका परराष्ट्रमन्त्री कमल थापाले आफु निकटका पार्टी नेताहरुसँग भने ‘अब भारतको मुख्य चासो हिन्दुराष्ट्र भयो ।’
प्रधानमन्त्री ओलीले आफ्नो सरकारका साझेदार दलहरु हिन्दुराष्ट्रका पक्षमा नभएको जानकारी समेत मोदीलाई गराएका थिए । स्रोतका अनुसार सत्ता साझेदार दल एमाओवादी हिन्दुराष्ट्रका बिपक्षमा भएको र त्यसतर्फ अहिले कदम चाल्दा सरकारलाई अप्ठेरो पर्ने संकेत ओलीले गरेका थिए ।
मोदीको हिन्दुराष्ट्र नेपाल बनाउने प्रस्ताव प्रधानमन्त्री ओलीले तत्काल स्वीकार गर्न नसकेपछि दुई देशका प्रधानमन्त्रीको संयुक्त बिज्ञप्ती आउन नसकेको हो । प्रधानमन्त्री ओलीले आफ्नो अडान नछाडेपछि भारतले नेपालको संविधानको पूर्ण स्वागत गर्न अस्वीकार गरेको हो । दुवै प्रधानमन्त्रीको यही अडानका कारण बिज्ञप्ती आउन नसकेको हो ।
प्रधानमन्त्रीसँगै स्वदेश फर्केपछि राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो दलका नेताहरुसँग छलफल गरेका थिए । उनले भारत भ्रमणको ब्रिफिङ गर्दै भारत हिन्दुराष्ट्रका पक्षमा दरिलोसँग उभिएको समेत थापाले बताए ।