
काठमाडौं । नेपालको संविधानप्रति फरक धारणा राखेर आन्दोलन गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले व्यवस्थापिका–संसद्को आजको बैठक पनि बहिष्कार गरेको छ ।
सभामुख ओनसरी घर्तीले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ मोर्चाआबद्ध राजनीतिक दलका सांसदहरु आ–आफ्नो ठाउँबाट उठेर विरोध जनाएका थिए ।
त्यसको लगत्तै सभामुख घर्तीले मोर्चाका सांसद बृजेशकुमार गुप्तालाई बोल्न समय दिएकी थिइन् । सांसद गुप्ताले संविधानका अन्तर्वस्तुका विषयलाई लिएर मोर्चाले नौ महिनादेखि सडक आन्दोलन र अनसनमा रहँदा प्रमुख राजनीतिक दल र सरकारले बेवास्ता गरेको आरोप लगाए ।
आन्दोलनकारीका मागलाई सम्बोधन नगर्ने हो भने देश दुर्घटनामा जान सक्ने भन्दै सम्वन्धित पक्षलाई हेक्का राख्न चेतावनी दिँदै उनले आन्दोलनकारी दलका कार्यकर्तालाई भड्काउने खेलमा सरकार उद्यत भएको भनी आलोचना समेत गरेका थिए ।
मोर्चाले उठाएका माग पूरा नभएसम्म सदनको बैठक बहिष्कार गर्ने कार्य जारी रहने जानकारी दिँदै बैठकबाट मोर्चासँग आवद्ध रहेका सांसदहरु संसद बैठग बहिस्कार गरेर होहल्ला गर्दै बाहिरिएका थिए ।