नेपाल सम्वत् ‘जागरण कालको इतिहास’

      काठमाडौँ। नेपाल सम्वत् ११३७ प्रारम्भ भएको सुखद अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र नेपाली काँग्रेसका सभापतिले बेग्लाबेग्लै शुभकामना सन्देश जारी गर्दै नेपाल सम्वत् ‘जागरण कालको इतिहास’ र ‘संस्कृतिको एक जीवन्त धरोहर’ भएको बताएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले दिनुभएको सन्देशमा सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको नेपाल सम्वत् ११३७ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेकी छन् ।

उनले नेपालीहरुको आफ्नै मौलिक सम्वत्को रुपमा रहेको नेपाल सम्वत्ले सबै नेपालीमा सहिष्णुता, सामाजिक एकता र आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै  भाइचाराको भावना समेत सुदृढ गर्न योगदान दिने आशा व्यक्त गरेकि छन् ।

सन्देशमा उनले यस पर्वलाई हर्षोल्लासका साथ मनाउन जसरी सबै नेपालीहरु एकाकार हुन्छन्, त्यसरी नै नेपालको संविधानमार्फत प्राप्त राजनीतिक, संवैधानिक एवम् सामाजिक उपलब्धिहरुको जगेर्ना गर्दै समुन्नत नेपाल निर्माणको अभियानमा एकजुट हुन प्रेरणा मिलोस् भन्ने कामना पनि गरेकि छन्।

यसै अवसरमा शुभकामना सन्देश दिँदै उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको तीव्र गतिमा कार्यान्वयन गर्दै बलियो राष्ट्रिय एकता र आर्थिक समृद्धिसहितका समृद्ध नेपाल निर्माण मुलुकको अहिलेको प्रमुख कार्यभार भएको बताएका छन्।

नेपाल सम्वत्को शुभ दिनले सबै नेपालीलाई एकताबद्ध गर्दै आपसी सहमति, सहयोग र सहकार्यको बाटोमा अघि बढ्न प्रेरणा मिलोस् भन्ने शुभकामना उपराष्ट्रपति पुनले दिएका छन्।

यसैगरी, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल सम्वत् ११३७ प्रारम्भ भएको खुसियालीमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दै नयाँ दिनले हरेक वर्ष हामी सबै नेपालीलाई यसका प्रणेता शंखधर साख्वाःको योगदानलाई सम्झाउँछ भनेका छन् ।

सभापति देउवाले आफ्नो सन्देशमा भने– “नेपाल विभिन्न भाषा, धर्म र संस्कृति भएको एक प्राचीन मुलुक हो । एकले अर्काको भाषा, धर्म र संस्कृतिको आदर र सम्मान गर्ने हाम्रो आफ्नै विशिष्ट र सौहार्दपूर्ण परम्परा छ । हामी सबै मिलेर यो परम्परालाई सधैं अक्षुण्ण राखेर हामीबीचको पारस्परिक एकता र सद्भावलाई अगाडि बढाउन सक्यौं भने मात्र हाम्रो देश नेपाललाई शान्त, समृद्ध र समुन्नत नेपालमा रुपान्तरण गर्न सम्भव हुन्छ ।” रासस

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice