संशोधन प्रस्ताव पास हुने डरले एमालेले संसद् चल्न नदिएकोः देउवा

चितवन। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गाउँ विकास समितिलाई गाउँपालिका बनाएर अहिलेकै संरचनामा निर्वाचन गर्न तीन दलबीच सहमति भएको बताएका छन्।

नेपाली काँग्रेस चितवनको सङ्गठन सुदृढिकरण एवम् जागरण अभियान २०७३ को बिहिबार उद्घाटन गर्दै उनले नेकपा (एमाले)का अध्यक्ष केपी ओली, (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल र आफ्नो बीचमा गाउँपालिकाको निर्वाचन गर्न सहमति भएको बताएका छन् ।

उनले संविधान कार्यान्वयन गराउन तीन तहको निर्वाचन हुनैपर्ने भएकाले यस विषयमा तीन दल एकमत भएको बताएका छन् । मुलुक अब चुनावको दिशामा गइसकेको भन्दै उनले १४ महिनाभित्रमा तीन तहको निर्वाचन नभए देशमा संवैधानिक सङ्कट आउने उल्लेख गरेका छन् ।

उनले भने “अब यसलाई कसैले टारेर टर्दैन ।” स्थानीय, प्रान्तीय र सङ्घीय निर्वाचन सकेर राष्ट्रिय सभा र राष्ट्रपतिको निर्वाचन हुन्छ ।

नेकपा एमालेका अध्यक्ष ओली र काँग्रेसका तत्कालीन पार्टी सभापति सुशील कोइरालाले हस्ताक्षर गरे अनुरुप नै सीमाङ्कन हेरफेर गरेर संशोधन प्रस्ताव पेस गरिएको उनले स्पष्ट पारेका छन्।

एमालेले प्रस्ताव पास हुने डरले संसद् चल्न नदिएको र जनता उचालेको उनको भनाइ थियो । सभापति देउवाले संशोधन प्रस्ताव फिर्ता नहुने बताएका छन् “काँग्रेस र माओवादी संशोधन प्रस्ताव कुनै पनि हालतमा फिर्ता लिने पक्षमा छैनन् ।”

आफ्नै पार्टीभित्रको प्रशङ्ग कोट्याउँदै उनले अब पार्टीभित्र गुट उपगुट भन्दा पनि मूल्याङ्कनको आधारमा पार्टीका सारथीलाई अगाडि बढाउने बताएका छन् ।

“गाउँ तहसम्म जो सक्रिय छ, त्यसैलाई अगाडि बढाउनुहोस् । चुनाव जसरी पनि जित्नुपर्छ ।” उहाँले भभने ।

कार्यक्रममा महामन्त्री डा शशाङ्क कोईरालाले देशको विगतलाई हेर्दा जुन बेला राजनीतिकस्थिरता आयो त्यतिबेला मात्रै विकास भएको बताएका छन् । उनले भभने “बिपीको १८ महिने सरकार र गिरिजाप्रसाद कोइरालाको नेतृत्वकालमा जे–जति नीति निर्माण र विकास भए अहिलेसम्म हुन सकेको छैन ।” बिपी कोइरालाले नेपाललाई चिन्ने हो भने गाउँलाई हेर्नुपर्छ भनेको प्रशङ्ग कोट्याउँदै उनले गाउँबाट सङ्गठन सुदृढ बनाउन आग्रह गरेका छन् ।

काँग्रेसलाई पहिलो पार्टी मात्रै नभएर बहुमतको पार्टी बनाउन केन्द्रबाट गर्ने सहयोग गर्न तयार रहेको भन्दै उनले गुट उपगुट छाडेर सङ्गठन विस्तारमा जोड्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

सो अवसरमा केन्द्रीय सदस्य एवम् परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले अन्तर्राष्ट्रिय जगतमा नेपाललाई सगरमाथाको देश र संस्कृतिक धरोहर मात्रै भनेर अब चिनाइराख्नु नहुने भन्दै आर्थिक समृद्धि र विकास गरेर विश्वको नमुना देश बनाउनुपर्ने बताएका छन् ।

संविधान कार्यान्वयन नभएसम्म देशको विकास हुन नसक्ने भन्दै उनले यसका लागि सबै दलको बीचमा सहमति जरुरी रहेको बताएका छन्।  रासस ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice