साझा प्रयासको खाँचो गुणस्तरीय शिक्षाका लागि

काठमाडौँ, २४ माघ । शिक्षालाई गुणस्तरीय बनाउन र त्यसमा सबैको पहुँच पु¥याउन शिक्षाविद्हरुले सुझाएका छन् ।

शिक्षा मन्त्रालय, शिक्षा विभागद्वारा यहाँ आज आयोजित राष्ट्रिय प्रारम्भिक कक्षा पढाइसम्बन्धी मिडिया अभिमुखीकरण कार्यक्रममा शिक्षा क्षेत्रका सरोकारवालाले व्यावहारिक र गुणस्तरीय शिक्षामा साझा प्रयासको आवश्यकता औँल्याउनुभयो ।

शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले सबै विद्यार्थीलाई विद्यालयसम्म ल्याउनु, शिक्षामा सबैलाई समान पहुँचको अवसर दिनुलगायत शिक्षाको सवालमा राज्यसँग धेरै चुनौती रहेको बताए।

विभागका उपनिर्देशक विष्णु अधिकारीले प्रारम्भिक कक्षा पढाइको सफलतामा बालबालिका आफू एक्लैले भन्दा पनि अभिभावक, शिक्षक–शिक्षिका, छिमेकी तथा साथीहरूको पनि महत्वपूर्ण भूमिका हुने बताए ।

शिक्षक धनञ्जय शर्माले कक्षा लिने अवधिभरि विद्यार्थीलाई बोल्न दिनेभन्दा पूरै समय शिक्षकले मात्रै बोल्ने संस्कारको अन्त्य गर्दै समग्र शिक्षण विधिमा परिवर्तन गर्नुपर्ने धारणा राख्नुभयो ।

सन् २०१४ युएसएआइडीले नेपालमा पहिलोपटक राष्ट्रव्यापी रुपमा सुरु गरेको प्रारम्भिक कक्षा पढाइ मूल्याङ्कनले नेपालका लागि प्रारम्भिक कक्षा पढाइ ठूलो चुनौतीका रूपमा रहेको देखाएको छ । मूल्याङ्कनअनुसार कक्षा २ मा पढ्ने ३७ प्रतिशत र कक्षा ३ मा पढ्ने १९ प्रतिशत विद्यार्थीले उनीहरूलाई पढ्न दिएका पठन सामग्रीबाट एक शब्द पनि शुद्ध पढ्न सकेनन् ।

प्रारम्भिक कक्षा पढाइ कार्यक्रम कक्षा १ देखि ३ सम्म पढ्ने सम्पूर्ण नेपाली विद्यार्थीको पढाइ सीप सुधार गर्न युएसएआइडी नेपालको आर्थिक सहयोगमा शिक्षा मन्त्रालयद्वारा पाँच वर्षे परियोजना सन् २०१५ देखि सञ्चालनमा रहेको छ ।

स्न २०१४ को जुलाई १२ मा सुरु भएको यो परियोजनाले विशेषगरी सरकारको राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमलाई प्राविधिक सहयोग प्रदान गर्दछ । यो कार्यक्रम पहिलो चरणमा भक्तपुर, बाँके, कञ्चनपुर, मनाङ, कास्की, सप्तरी गरी ६ जिल्ला सञ्चालन गरिएको थियो भने दोस्रो चरणमा बर्दिया, कैलाली, दाङ, डडेल्धुरा, धनकुटा, डोल्पा, मुस्ताङ, पर्सा, रूपन्देही र सुर्खेत गरी १० जिल्ला सञ्चालन भइरहेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice