अयोग्यको बिल्ला भिराइएको माओवादी एक लडाकुको पीडै पीडाले भरिएको कहानी

रुपमा कम्युनिष्ट,सारमा यी सबै सामन्ती हुन । जीवनका उर्जाशील १५ वर्ष माओवादीमा बिताएर निकालेको निष्कर्ष हो यो मेरो ।जनयुद्ध दिवस मनाउने नाममा करोडौ खर्चने माओवादी नेतृत्वले हिजो लडाउँदा,भिडाउदा घाइते अङ्गभङ्ग भएका लडाकु र सिन्दुर पुछिएका चेलीहरु कहाँ छन के गर्दैछन भनेर बिर्सको देख्दा हामीलाई केवल सत्तामा पुग्नका लागि तीनका भ¥याङ मात्र बनाइएकोमा पीडा हुन्छ र नेतृत्व प्रति आक्रोश पोख्न मन लाग्छ । तर हामी जस्ता भुँइमान्छेको कुरा नेतृत्वले कहाँ सुन्छ र एक कानले सुन्छ अर्काे कानले उडाँउछ । नेतृत्वलाई हामीजस्ता पीडा सुन्ने फुर्सद नै कहाँ छ र ?

आज म जस्ता ४ हजार ८ माओवादी लडाकु अयोग्यको ट्याग भिरेर जीवन घिटिघिटि बाँचेर पलपल मरिरहेका छौं । अवस्था यस्तो थियो,पश्चिमको एक घरबाट एक जनमुक्तिसेनामा जानै पर्ने माओवादीको उर्दी थियो । हो,त्यही समय अर्थात ५८ सालबाट हो माओवादी आन्दोलनमा होमिएको । त्यससमय नेपाली सेनाले घरमा आगो लगाइदिए पछि ५८ वैशाख तीनबाट माओवादी आन्दोलनमा होमिए । सुरुमा जनसांष्कृतिक फाँटको कलाकार हुँदै जनमिलिसियामा पुगियो । ५९ सालमा खरा आक्रमण गरियो । सो समयमा टाउकोमा लागेको छर्रा बोकेर आज हिडिरहेको छु । त्यही छर्रा समेत निकाल्न सक्ने अवस्था छैन । त्यही वर्ष चैत्र ७ गते म्याग्दी आक्रमण गरियो । पछाडि गण्डक अभियान सुरु भयो । गण्डकमै दुई वर्ष बिताए । त्यही बीचमा दिल्लीमा १२ बुँदे सम्झौता भयो । ६३ सालमा माओवादी शान्ती प्रक्रियामा आएपछि लडाकु प्रमाणीकरणको विषय पनि जोडियो । हाम्रा डिभिजन कमाण्डर थिए शरद वूढामगर र अभिनाश वूढामगर । उनीहरुले प्रमाणीकरण गर्दा बास्तविक घाइते,अपांगलाई हेरेनन ।

 डिभिजन कमाण्डरहरुले माओवादी आन्दोलनसँग केही साइनो नभएका आफ्ना श्रीमती,भान्जा,भान्जी,साला,साली सबै जसो आफन्तलाई माओवादी योग्य लडाकु बनाए । पाँच पाँच लाखको चेक थमाए । तर, माओवादी आन्दोलनमा दिलो ज्यान दिएर होमिएका हामीजस्तालाई भने अयोग्यको ट्गाय लगाइयो । आज कहाँ जानु जीवनका उर्जाशील समय माओवादी आन्दोलनमा होमिइयो । पढाइ,लेखाई छैन । गाँउमा गएर खेती किसानी गर्न सकिदैन । जागिर खोजौ योग्यता छैन । मर्नु र बाच्नुको दोसाँधमा जीवन घिसारिरहेका छौं ।

लडाकु प्रमाणीकरणको विषय हामीले पछाडि मात्र चाल पायौं । हामीलाई अयोग्यको बिल्ला पो लगाइएको रहेछ । सोही पछाडि घोराहीमा रहेको पार्टी कार्यलय कव्जा ग¥र्यौ । घोराीमा पार्टी कार्यलय कब्जा गरिए लगत्तै तत्कालीन शान्ती मन्त्री सत्या पहाडीसँग वार्ता पनि भयो । मुखले ‘तपाईहरुको माग सम्बोधन गर्छु’ भन्नुभयो । त्यही समयमा कागज पनि बन्यो । तर,कागजमै सिमित रह्यो ।कुन रद्धिको टोकरीमा फालियो सो कागज थाहा छैन । नेताहरुबाट केही पार नलागे पछाडि ६८ सालमा बहिगर्मित जनमुक्ति नेपालको नाममा संर्घष समिति बनायौं । जस्को संयोजक किरण दंगाल थिए । पाँच महिना पछाडि बुटवल राष्ट्रिय भेलाबाट सागर लिम्बुलाई अध्यक्षमा चुन्यौं । तर पार्टी टुक्रिएसँगै लिम्बु मोहन वैद्यको पछाडि लागे । यहीबीचमा ६९ सालमा पेरिसडाँडा आन्दोलन भयो । ४ महिना पछाडि आन्दोलनको नेतृत्व गर्न लेनिन विष्ट आइपुगे । यिनी आएसँगै लडाकु आन्दोलन झनै भाँडियो । हामी सबै सोझा सिधा थियौं । तर उनी रहेछन चण्डाल ।

४ हजार ८ अयोग्य लडाकुको टाउको देखाएर भरण पोषण गर्ने नाममा कहिले शिवसेना ,कहिले जर्मन, अमेरिकन,स्वीजल्याण्ड एम्बेसी चहारेर पैसा बटुल्दा रहेछन । पछाडि मात्र चाल पायौं । एकातिर पेरिसडाँडा घेर्न आएका साथीहरु भोकभोकै मर्ने,अर्काेतिर विभिन्न दुतावास चाहर्दै लेनिनले पैसा बटुल्ने तर फुट्या कौडी नदेखाउने गर्न थाले । अयोग्य लडाकुको नाममा पार्टी नेतृत्वले त सौतेनी व्यवहार गरेकै थियो पछाडि लेनीन विष्ट थपिए । अयोग्य लडाकुको नाममा उनी कमाउधन्दा चलाउन थालेछन । पछाडि शान्तीमन्त्री टोपबहादुर रायमाझी हुँदा अयोग्य लडाकुको नाममा १५ लाख छुट्याइयो । तर,अयोग्य लडाकुलाई परिचयपत्र दिने नाममा भित्रभित्रै लेनिन विष्ट र टोपबहादुर रायमाझी मिलेमतोमा यही पन्ध्र लाख रुपैंया पनि गायब बनाइयो । बरु प्रत्येक अयोग्य लडाकुको हातमा एउटा एउटा कार्ड थमाइयो । त्यो कार्डले न खान दिन्छ न लाउन दिन्छ । भोक लाग्दा त्यही कार्ड चपाएर भोक मर्दैन । पछाडि वावुराम भट्टराइले प्रत्येक अयोग्य लडाकुको नाममा २ लाख छुट्टाएका थिए । सो पनि पाइएन । यसमा पनि उनै लेनिनहरुको सक्रियता रह्यो । टुप्पाबाट पलाएका लेनिनको उल्टो यात्रा कति दिन नै टिक्थ्यो र ? पछाडि उनी कल वाइपासको आरोपमा जेल परेपछाडि ६१ सदस्यीय अर्काे संर्घष समिति बन्यो मेरै नेतृत्वमा । डेढ वर्ष पछाडि विष्ट जेलबाट छुटे ।

 र, अयोग्य लडाकुको अध्यक्ष मै हुँ भन्दै हिड्न थाले । यीनि माओवादी सिद्धाउछु मलाई सहयोग गर्नुप¥र्यो भन्दै कहिले कनकमणी,खुमबहादुर खड्का,सुवोध प्याकुरेल,सोनी साहहरु कहाँ पुगेर रकम बटुल्थे र माओवादी आन्दोलन भाड्न सक्रिय रहन्थे । माओवादीले हामी जस्ता सच्चा माओवादीलाई होइन माओवादी शान्ती प्रक्रियामा आएपछि माओवादी बनेका विष्टहरुलाई च्याप्दै हिड्यो । यस्तै चैतेले पार्टीमा अवसर पाँउदै आएका छन र त पार्टी आज सिद्धिदै,खिइदै गएको छ । पार्टीले गोबर र गु चिनेन । हिजो चप्पल लगाएर राजधानी छिरेको र सिटिइभिटिइको एउटा साधरण जागिरे विष्ट आज आफ्नो विवाहमा २० लाख खर्च गर्नसक्ने औकात र हैसियत बनाएका छन । यीनको आम्दानीको स्रोत के हो ? अस्ति भर्खर मात्र यीनले १९ लाख खर्च गरेर आफ्नो विवाह गरेका छन । एकातिर माओवादी लडाकुहरु भोकभोकै मर्न अर्काेतिर लडाकुको नाममा यी र यस्तै चैतेहरुले आफ्नो पुस्तालाई पुग्नेगरी भुँडी भरेको विकृतीबारे कस्ले मुख खोल्ने ?कस्ले बोल्ने ? आज पनि अयोग्य लडाकुको अध्यक्ष मै हुँ भन्दै हिड्छन जबकी यीनको पक्षमा सुवास थापा,दीलबहादुर रम्तेल बाहेक अरु कोही छैन । वास्तविक लडाकुको अवस्था आज पनि जिविकोपार्जन गर्न गाह्रो छ ,कोही खाँडी मुलुकमा पुगेर घोडाको लित्ति सोर्दै छन । कोही जीवन गुर्जान ज्यामी मजदुरी गर्दैछन ।

 यो बीचमा अयोग्यको ट्याग लागेकै कारण पाँच जना साथीले आत्महत्या गरिसकेका छन । यो विषयलाई लिएर पार्टी अध्यक्षलाई सयौं पटक भेटियो । तर, सधैं उही दहिच्यूरे कुरा गर्नुहुन्छ । वावुराम भट्टराईको के कुरा गर्नु ? अयोग्य लडाकुले पाउनुपर्ने दुई लाख नपाए ती मेरै पार्टीमा आउथे त्यही कारण कुनै हालतमा त्यो रकम नपाउनु भन्ने  ठान्नुहुन्छ ।   ती सधैं कुरा खोक्रो कुरा गर्ने हुन । यी अयोग्य मेरै पार्टीमा आइदिए हुन्थ्यो भन्ने उहाँको सोच छ ।तर,हामी उनको पार्टीमा किन लाग्नु ? पूर्ववर्ती प्रधानमन्त्री केपी ओलीकै समयमा अयोग्य लडाकुको नाममा ८४ करोड छुट्याइएको हो । त्यही रकम समेत माओवादीले वितवरण गर्न सकेन ।

 माओवादी आन्दोलनमै होमिदा २० लाख रुपैंया ऋण लागेको छ । यो ऋण कहाँबाट कसरी तिर्ने ? गाँउमा भएको आफ्नो जग्गा जमिन सारा बेच्दा २ लाख पनि हात पर्दैन । यो बीचमा मणी थापा,प्रकाश रोकाय,बादल,चन्द्र प्रकाश खनाल‘बलदेव’हरुलाई भेट्दा पार्टी आन्दोलनका लागि भएको खर्च पार्टीले बेर्होछ भन्थे । अहिले भेट्न खोज्दा यी सबै तर्कन्छन । माओवादीले कार्यकर्ता यूज एण्ड थ्रो मात्रै गर्न भाँडो बनायो । अब स्थानीय निकायको चुनाब आँउदै छ । यो समयमा माओवादी नेतृत्वलाई हामी जस्ता लडाकुहरुको खाँचो पर्ला अनि हामीलाई सम्झेला । त्यो समय हामी पनि देखाइदिने छौं । घरमा वूढा भएका बुवा,आमा हुनुहुन्छ । माओवादीकै कारण मैले आफ्नै बुवा आमालाई हेर्न सकिन । आज पनि मलाई घर परिवारभन्दा संगठनको चिन्ता छ । जागिर खाँउ पढाई छैन,गाँउमा जाँउ फर्कन मन छैन । मर्नु र बाच्नुको अवस्थामा आफ्ना कार्यकर्तालाई छाडेर माओवादी नेतृत्व आज पनि धनयुद्धको पछाडि लागेको छ । यस्तै पाराले माओवादी पत्तासाप होला कि भन्ने चिन्ताले पिरोल्छ ।
अर्जुन वूढाथोकी,संयोजक बर्हिगर्मित जनमुक्ति सेना नेपाल -जनआस्था साप्ताहिकबाट

One thought on “अयोग्यको बिल्ला भिराइएको माओवादी एक लडाकुको पीडै पीडाले भरिएको कहानी

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice