रुपन्देहीबाट सुरु भएको मनोजको अपराध रुपन्देहीबाटै अन्त्य भयो

काठमाडौँ । पछिल्लो समयमा ठूला अनि शृंखलाबद्ध हत्याकाण्ड मच्चाउदै आएका चर्चित गुण्डा नाइके मनोज थापामगर उर्फ मनोज पुन अन्तत प्रहरीको इन्काउन्टरमा मारिएका छन्। केही समयअघि मात्र काठमाडौँको व्यस्त बजार बानेश्वरमै नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको सार्प सुटरको प्रयोग गरी हत्या गराएर आफैले जिम्मा लिएका पुनले त्यसैको केही अगाडी बुटवलको देवदहमा युवा संघका नेता दुर्गा तिवारीको पनि हत्या गरेका थिए ।

बुधबार बिहान प्रहरी इन्काउन्टरमा मारिएका मनोज पुन र उनका सहयोगी सोम आलेलाई २२ राउन्ड गोली लागेको छ। रुपन्देहीको देवदह ४ भवानीपुर कोलिया राज्य नजिकै भएको घटनामा प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका पुनको शरीरमा १२ राउण्ड गोली लागेको छ भने उनका सहयोगी तथा सार्प सुटर सोम आलेलाई १० राउण्ड गोली लागेको छ।

प्रहरीले मोस्ट वान्टेडको सूचीमा राखेका पुनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले खोजी गरिराखेको थियो । बुधबार बिहान साढे ३ बजेतिरै प्रहरी र उनीहरुबीच देवदह–४, भवानीपुरमा जम्काभेट भयो । त्यसपछि दुवै पक्षबीच दोहोरो फायरिंग हुँदा उनीहरुको मृत्यु भएको प्रहरीले बताएको छ।

देशमा २०६२/०६३ मा भएको राजनीतिक परिवर्तनपछि रुपन्देही जिल्लामा हुने ठेक्कापट्टा अवरोध गर्न सुरु गरी आफ्नो आपराधिक पेसा सुरु गरेका पुनले त्यसपछि त्यस क्षेत्रमा युवाको समूह नै बनाएर जिल्लामा हुने ढुंगा, गिटी, बालुवालगायत ठेक्कापट्टामा आफ्नो भाग खोज्न थाले । र, विस्तारै ठेक्कापट्टामा व्यवसायीहरुसँग साझेदारीसमेत गर्न थाले । क्रमिक रूपमा लालच बढ्न थालेपछि उनले कमिसन लिने अपहरण गर्ने ,धम्काउने र मान्छेको हत्या गर्नेजस्ता आपराधिक क्रियाकलापहरु बढाउदै लान थालेका थिए।

देशमा माओवादीको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को बिगबिगी रहेका बेला उनी राजनीतिक शरण लिन त्यतै प्रवेश गरेका थिए । वाईसीएलको आवरणमा उनलाई गुण्डागर्दीलाई बढाउन अझ सहज भयो । पछि उनी एमाले निकट युथ फोर्सतिर लागे ।त्यसबेला पुन युथ फोर्सको रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ को कोषाध्यक्षसमेत बने । युथ फोर्सको आडमा उनको गुण्डाराज अझ झांगियो । तिवारी हत्यापछि प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका पुनले त्यसयता नै भारतीय आपराधिक सञ्जाल अन्डरवर्ल्डसँगसँग समेत सम्बन्ध विस्तार गरेका थिए । अन्तत रुपन्दीहेमै आएर उनको हत्या भयो र जीवनलीला समाप्त भयो।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice