बादलले ओलीलाई साथ देलान् कि सहयोद्धा ‘भाई’ लाई ?

सन्तोष दहाल


काठमाडौँ । प्रदेश नं ३ बाट राष्ट्रियसभा सदस्यमा निर्वाचित माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’अन्तत: केपी ओली नेतृत्वको सरकारमा गृहमन्त्रीको जिम्मेवारी सम्हाल्न पुगेका छन् । बाम गठबन्धनका शीर्ष नेताबीच मन्त्रालय बाँडफाँडका क्रममा गृहमन्त्री माओवादी केन्द्रको भागमा परेपछि पार्टीबाट सरकारमा सहभागीमध्ये सबैभन्दा सिनियर नेताका रुपमा उनी मन्त्री बन्न सफल भएका हुन् ।

मन्त्रालय बाँडफाँडको टुंगो नलाग्दासम्म माओवादी केन्द्रबाट वर्षमान पुन,जनार्दन शर्मा लगायतका नेताहरु पनि गृहमन्त्रीको आकांक्षी देखिएका थिए तर बादलको इच्छामुताविक नै उनी सरकारमा सहभागी हुनेहरुमध्येबाट प्रधानमन्त्री केपी ओली र पार्टी अध्यक्ष प्रचण्ड दुबैको पहिलो रोजाईमा परे। यद्यपि उनी यस्तो समयमा गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्न आइपुगेका छन् कि १० वर्षे सशस्त्र जनयुद्द्ध,शान्ति प्रक्रियालगायत त्यसपछिका थुप्रो यात्राहरुमा उनीसंगै पार्टीको सहयात्री भएर काम गरेका र माओवादी केन्द्रबाट नै छुट्टीएर गएका नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले बाम गठबन्धनसहित नवगठित सरकारको नै प्रत्यक्ष रुपमा विरोध गरिरहेको छ भने सरकारले पनि विप्लव नेत्रित्वमाथि पूर्णरूपमा प्रतिबन्ध लगाएको छ, उसका सबै क्रियाकलापमाथि प्रधानमन्त्रीकै निर्देशनमा हस्तक्षेप भईरहेको छ ।

नेता तथा पार्टीका कार्यकर्तामाथि निगरानी गर्दै गिरफ्तार बढाइएको छ भने पार्टी स्थायी समिति सदस्य अर्थात बादलका सहयोद्धा हेमन्तप्रकाश ओली ‘सुदर्शन’सहित दजर्नौ नेताहरुलाई गिरफ्तार गरिएको छ । सोही गिरफ्तारीको विरोधमा विप्लव नेतृत्वले केही दिनअघि मात्र एकदिने नेपाल बन्द पनि सफल पारेको छ। यस्तो अवस्थामा अब नेकपामाथि उनकै सहयात्री रहेका गृहमन्त्रीले कस्तो प्रक्रिया अगाडी बढाउलान भन्ने विषयमा सबैको चासो बढ्न थालेको छ ।

बादल गृहमन्त्रीमा पक्का हुनुअघि नै प्रधानमन्त्री ओलीले जनयुद्धकालिन अवस्थामा बनाइएको प्रहरीका संरचना ब्यूताएर नेकपामाथि दमनको नीति लिइरहेका छन् । अबका दिनहरुमा बादलले ओलीलाई साथ दिएर दमनकै नीतिलाई निरन्तरता दिन्छन कि पुराना सहयोद्धासंग छलफल अनि वार्ताका माध्यमबाट उचित समाधान निकाल्ने बाटोतिर जान्छन,त्यो भने हेर्न बाँकी छ। अहिलेसम्म पनि विप्लवले बादललाई दाइ शब्दले सम्मान गर्दै सम्बोधन गर्छन भने पार्टीमा फुट आए तापनि व्यक्तिगत रुपमा अहिलेसम्म यी दुईबीच कुनै नराम्रो आरोप प्रत्यारोप भएको पाइएको छैन।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice