खुर्सानी पसलदेखि जिरे खुर्सानीसम्म धोकै धोका खाएँ-माग्ने बुढा

केदार घिमिरे (माग्ने बुढा)

२०५० सालतिर म भौँतारिँदै काठमाडौं छिरेँ । विना पेशा काठमाडौंमा टिक्न नसकिने अवस्था नभएपछि मैले तत्काल सानो कस्मेटिक व्यापार सुरु गरेँ । आठ सयको लगानीमा एउटा कस्मेटिक पसल सुरु गरेको थिएँ । पहिलो दिनमै दुई सयको बिक्री भयो । त्यस रात म राम्रोसँग सुत्न सकिनँ । आम्दानीको बाटो खुलेकोमा धेरै खुसी थिएँ । ललितपुरको जावलाखेलमा मेरो पसल थियो । त्यत्तिकैमा राज्यले सडक विस्तारको योजना ल्यायो र मेरो पसल भत्काउनुपर्ने भयो । मैले पसल राख्ने अर्को ठाउँ पाइनँ । मेरो पहिलो पेशा खोसियो ।

त्यसपछि मेरो अर्को व्यवसाय सुरु भयो, मसला बेच्ने । साइकलमा जिरा–खुर्सानीको धुलो राखेर दिनभर बेच्न जान्थेँ । पहिलो दिन सात रुपैयाँको मसला बिक्री गरेँ । यो क्रम लगभग दुई वर्ष चल्यो । यसबाट पार लाग्ने छाँट देखिएन । त्यसपछि अर्को पेसा अँगाले । पहिले एउटा त्यसपछि अर्को गर्दै तीनवटा टयाम्पु किनेँ । तीन ट्याम्पु किनेको केही समयपछि नै सरकारले राजधानीलाई धुवाँमुक्त क्षेत्र बनाउने भन्दै ट्याम्पु हटाउन निर्देशन दियो । एक लाखका दरले किनेका ट्याम्पु पछि ३० हजारका दरले बेच्नुपर्यो । लागेको ऋण पनि तिर्न सकिनँ । राज्यले फेरि मेरो अर्को पेसा खोस्यो ।

चार वर्षमा मैले तीनवटा पेसा अँगालिसकेको थिएँ । सफल हुनै लाग्दा छोड्नुपर्ने पीडाबाट गुज्रेको थिएँ । त्यसपछि मैले अर्को क्यासेट पसल सञ्चालन गरेँ । विभिन्न खालका गीतका क्यासेट बेच्न थालेँ । त्यो बेला हरिवंश र मदनकृष्णका हास्य क्यासेट धेरै बिक्री हुन्थे । यही पसलबाट जीविका चलाइरहेको थिएँ ।
मेरो पसलनजिकै रेडियो नेपालमा साहित्यिक कार्यक्रम सञ्चालन गर्ने सुमित्रा घिमिरे दिदी बस्नु हुँदोरहेछ । बिस्तारै उहाँसँग चिनजान भयो । त्यो बेला हरिवंश र मदनकृष्ण दाइको हास्य क्यासेट सुनेर हास्य कविता लेख्न थालेको थिएँ ।

एक दिन मैले एउटा हास्य कविता लेखेँ । सुमित्रा दिदीलाई बिहानै गएर त्यो कविता देखाएँ । रेडियो नेपालबाट प्रसारण गरिदिन निवेदन गरेँ । उहाँले सुरुमा केही भन्नुभएन । पढेपछि राम्रो लागेर होला प्रसारण गर्नुभयो । त्यो मैले आफूलाई संसारै जिते जस्तो लाग्यो ।

त्यसपछि मेरो हास्य व्यंग्यतिर ध्यान जान थाल्यो । सुमित्रा दिदीले पछि मेरा धेरै कविता रेडियो नेपालबाट वाचन पनि गरिसक्नुभएको थियो । पछि उहाँकै माध्यमबाट म रेडियो नेपालमा पुगे । त्यहाँ हास्यकलाकार र टेलिशृंखला बनाउने व्यक्तिको अन्तर्वार्ता लिने काम पाएँ । त्यही बेला हो मैले पहिलोपटक सन्तोष पन्तदाइलाई चिनेको ।

एकपटक म सन्तोष दाइको अन्तर्वार्ता लिन उहाँको निवासमा पुगेँ । त्यो बेला नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘हिजोआजका कुरा’ टेलिशृंखला निकै लोकप्रिय थियो । मैले अन्तर्वार्ता लिइसकेपछि उहाँलाई हिजोआजका कुरामा रोल दिन आग्रह गरेँ । उहाँले सजिलो रूपमा ‘तिम्रो नम्बर देऊ म सोमबार फोन गर्छु’ भन्नुभयो ।’ मैले घरबेटीको नम्बर दिएँ । लगातार प्रत्येक सोमबार उहाँको टेलिफोनको प्रतीक्षामा बसेँ, तर फोन आएन ।

एक दिन पसल बन्द गरी सन्तोष दाइको घर गएँ । त्यहाँ त हिजोआजका कुरामा रोल खोज्नेको भीड नै रहेछ । उहाँलाई भेट्न पनि पाइनँ । त्यसपछि अर्को सोमवार फेरी पुगेँ । त्यसपछि उहाँले मलाई सानो रोल दिनुभयो । मेरो हास्य कलाकारको यात्रा यहीँदेखि सुरु भएको हो ।

मैले हिजोआजका कुरामा काम गर्न थालेकै दिन क्यासेट पसल भएको घर पनि बाटो चौडा बनाउन भत्काउनुपर्ने भयो । फेरि राज्यले मेरो पेसा खोस्यो । राज्यले पेसामा लात नहानेको भए सायद म अहिले हास्य कलाकार ‘माग्ने बुढा हुने थिइनँ । त्यही भएर मेरी बास्सैमा मैले लात्ताले हानेर बारीका पाटामा पुर्याइदिन्छु भन्ने गरेको छु ।

हिजोआजका कुरा बन्द भएपछि म दमन रुपाखेती र जितु नेपाल मिलेर ‘जिरे खुर्सानी’ टेलिशृंखला सञ्चालन गर्यौँ । त्यसमा शिवहरि पौडेल पनि हुनुहुन्थ्यो । पछि त्यहाँ खटपट भयो, हामीले छुट्टै ‘मेरी बास्सै’ सञ्चालन गर्यौँ । म त्यहाँ पनि टिक्न सकिनँ । अहिले फेरि राज्यले टयाम्पु खोसे जस्तो भएको छु ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice