सातै प्रदेशका मुख्य मन्त्री बानेश्वरमा, राष्ट्रपतिको निर्वाचन शुरु

काठमाडौँ, । सातै प्रदेशका मुख्यमन्त्री, सभामुख, मन्त्री एवं प्रदेशसभा सदस्यहरु आज संघीय संसद् भवन परिसर बानेश्वरमा भेला भएका छन् । संघीय गणतन्त्र नेपालको राष्ट्रपति पदको निर्वाचनमा मतदाताका रुपमा भाग लिन उनीहरु काठमाडौँ आइपुगेका हुन् । निर्वाचनमा प्रदेशसभाका ५४९ सदस्य मतदाता छन् ।

त्यस्तै संघीय संसद् प्रतिनिधिसभा र राष्ट्रियसभाका ३३१ सदस्य मतदाता छन् । राष्ट्रपति पदको निर्वाचनका लागि यतिका संख्यामा जनप्रतिनिधि पहिलो पटक राजधानीमा उपस्थिति भएको हो ।

संघीय संसद् भवन परिसरको पूर्वपट्टिको खुल्ला स्थानमा संघीय संसद् सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ । संघीय संसद्को तुलनामा प्रदेशसभा सदस्यको संख्या बढी भएकाले प्रदेशसभा सदस्यको लाइन निकै लामो देखिएको छ । राष्ट्रपति पदको निर्वाचनका लागि ९ बजेदेखि मतदाता निर्वाचनस्थलमा प्रवेश गरेका थिए भने १० बजे बिहानदेखि मतदान शुरु भइसकेको छ ।

राष्ट्रपतिको मतदान सुरु

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि भएको निर्वाचनको मतदान बिहानदेखि शुरु भएको छ । पहिलो मतदान संघीय संसद्का सदस्य जीपछिरिङ लामा र प्रदेशसभा सदस्य दामा शर्माले ठीक १० बजे गरेका थिए । संघीय संसद् भवन नयाँ बानेश्वर परिसरको पूर्वतर्फको खाली स्थानमा संघीय संसद् र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ । मतदानका लागि बिहान ९ बजेदेखि नै मतदाता मतदान केन्द्रमा प्रवेश गरेका छन् । मतदानको समय अपराह्न ३ः०० बजेसम्मका लागि तोकिएको छ ।

राष्ट्रपतिको निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसांसद कुमारी लक्ष्मी राई प्रतिष्पर्धामा छन् । राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुनेछ ।

निर्वाचन व्यवस्थित गर्न सुरक्षा व्यवस्थालाई चुस्त तुल्याउनाका साथै प्रत्येक केन्द्रमा महिला र पुरुषका लागि बेग्लाबेग्लै लामको व्यवस्था गरिएको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् प्रतिनिधिसभा र राष्ट्रियसभाका ३३१ र प्रदेशसभाका ५४९ सदस्य गरी ८८० जना मतदाता हुन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice