प्रदेशभन्दा स्थानीय तहमा बढि बजेट पठाउने अर्थमन्त्रालयको तयारी, प्रदेशमा १५, स्थानीयमा २१ प्रतिशत

काठमाडौं । सरकारले प्रदेशभन्दा स्थानीय तहमा बढि बजेट पठाउने गरी संघिय सरकारको बजेट निर्माण गरिरहेको छ । कूल बजेटको करिब २१ प्रतिशत स्थानीय तहमा र १५ प्रतिशत प्रदेशमा पठाउने तयारी गरेको अर्थमन्त्रालय स्रोतले बताएको छ । बजेटका बिषयमा अर्थमन्त्रालयमा भइरहेका छलफलमा पनि बिज्ञ र राष्ट्रिय योजना आयोगका अधिकारीहरूले स्थानीय तहमा बढि बजेट पठाउन सुझाव दिएका छन् ।

स्थानीय तहमा पठाइने बजेटमा अनुदान र राजस्वको रकम समावेश गरिने भएको छ । कुल बजेटको पाँच भागको एक भाग स्थानीय तहलाई पठाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ । ‘समृद्धि र विकासलाई स्थानीय तहमा पुर्‍याउन स्थानीय तहमा लगभग २१ प्रतिशत र प्रदेश तहमा १५ प्रतिशत बजेट जाने सम्भावना मैले देखेको छु’ राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले भने । सरकारले यसपालिको बजेट १२ खर्ब भन्दा बढिको ल्याउने तयारी गरेको छ ।

जिल्लामा रहेका शिक्षा, स्वास्थ्य, पशुलगायतका शाखाहरूमार्फत् भइरहेका कामहरू अब स्थानीय तहबाट हुने भएका छन् । यी तहको रकम सिघै स्थानीय तहमा जाने भएपछि प्रदेशभन्दा बढि हुने भएको हो । ‘कतिपय जिल्लास्तरका कार्यालयहरूले शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन लगायतका क्षेत्रमा गर्दै आएका कामका लागि दिइने अनुदानको रकमको हिस्सा ठूलो हुने हुनाले प्रदेशको तुलनामा स्थानीय तहको हिस्सा ठूलो हुनेछ’ राष्ट्रिय योजना आयोगका सदस्य सचिव शरदचन्द्र पौडलले भने ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice