मुक्तिनाथमा मोदीका पाँच रुप, छिरिङ किङ्गा टाउकोमा लगाएर हिडे

मुक्तिनाथ । नेपालको दुईदिने राजकीय भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिवार बिहान मुस्ताङस्थित मुक्तिनाथ मन्दिर पुगे । भारतीय वायु सेवाको विशेष हेलिकप्टरबाट बिहान ७ः५५ मिनेटमा मुक्तिनाथ पुगेका मोदीले चार वटा पोषाक परिवर्तन गरेका थिए । उनले धामिक बस्त्रदेखि स्थानीय भेषभुषा पनि पहिरन गरेका थिए ।
मोदीलाई नेपालको संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, ४ नं प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, आन्तरिम मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानलगायतले स्वागत गरेका थिए ।

पूर्वमन्त्री, सासंद, जनप्रतिनिधि, जिल्लाका सरकारी अधिकारी, सुरक्षा अधिकारी, स्थानीय संघसंस्थाका पदाधिकारी, मुक्तिनाथवासी सर्वसाधारण पनि मोदीको स्वागतमा खटिएका थिए । मन्दिरको मूल प्रवेशद्वारमा प्रवेश गर्नुपूर्व उनलाई हिन्दू बटुकले स्वस्ती वाचन र बौद्ध आनी झुमाहरुले बौद्ध संस्कृतिमा प्रचलित बाजा (ङेङे) बजाएर स्वागत गरेका थिए ।

मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीका अनुसार शोडषोपचार विधिद्वारा पूजा गरेका थिए । “मोदीले सम्पूर्ण विधि अपनाएर पूजा गर्नुभयो”, उनले भने , “अर्चना एवं आरती स्वंले नै गर्नुभएको हो ।”

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र प्रदेश नं ४ का मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले हिन्दू धर्ममा पवित्र मानिने शालिग्राम उपहार प्रदान गरेका थिए ।

यस्तै मुक्तिनाथस्थित वारागुङ गाउँपालिकाले ताम्रापत्र र भेँडाको उनबाट बनेको गलैँचा उपहार प्रदान गरेको थियो । जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख छिरिङ ल्हामो गुरुङले पनि गलैँचा उपहार दिएका थिए ।

मन्दिर परिसरमा विभिन्न व्यक्ति एवं संस्थाले उपहार त दिएकै थिए फर्कने क्रममा बाटोमा एक स्थानीयले भोटे गुरुङ समुदायले लगाउने टोपी (छिरिङ किङ्गा) समेत लगाइदिएका थिए ।

मुक्तिनाथ वरपर टलक्क टल्कने हिमालका साथै अन्य रमणीय दृश्य हेरेर रमाएका मोदी स्थानीयले बजाएको ङेङे बाजा बजाउँदा स्थानीयवासी निकै दंग देखिन्थे ।

स्थानीयवासीसँग साक्षात्कार गर्नुका साथै भलाकुसारी गरेका मोदीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी उनको वरपर स्थानीयलाई परपर सारे पनि मोदी आँफै स्थानीयवासीसँग रमाएका थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice