१३ वर्षीय सुत्केरी ममतालाई छोरी पाएको भन्दै घरनिकाला

सिराहा । बाह्र वर्षमा विवाह भएर १३ वर्षमै छोरीलाई जन्म दिएकी सिराहा गोलबजारकी ममता मरिकको बिचल्ली भएको छ । छोरी जन्माएको भन्दै एक महिनाकी सुत्केरीलाई परिवारले घरनिकाला गरेको छ।

सप्तरीको गढीगाउँपालिका–७ का गुमन मरिककी छोरी ममताको एक वर्षअघि सिराहा गोलबजार घर भएका २७ वर्षीय प्रकाश मरिकसँग विवाह भएको थियो ।
ममताले १३ वर्षकै उमेरमा एक महिनाअघि छोरीलाई जन्म दिएकी थिइन् । प्रकाशको ममतासँग दोस्रो विवाह हो । जेठी श्रीमतीतर्फ दुई छोराछोरी छन् । छोरी जन्माएको भन्दै श्रीमान् र परिवारका सदस्यले वैशाख तेस्रो हप्ता घरनिकाला गरेपछि ममता माइतीको शरणमा पुगेकी हुन् ।

ममता र नवजात शिशु दुवैलाई कुपोषण भएपछि एक साताअघि सुनसरी जिल्ला अस्पताल इनरुवामा भर्ना गरिएको छ । किशोरी ममतालाई मातृत्वबारे केही थाहा छैन । छोरीलाई स्तनपान गराउन पनि जान्दिनन् । बच्चा कसरी समात्ने र स्याहारसुसार गर्ने भन्ने पनि उनलाई ज्ञान छैन । पौष्टिक आहार र उचित हेरचाहको अभावमा बच्चा कुपोषित छ । आमाको स्वास्थ्यमा समेत समस्या देखिएको उपचारमा संलग्न डा. तुषार झाले बताए ।

माइतीको आर्थिक अवस्थासमेत अत्यन्तै कमजोर भएकाले माइती पक्षबाट पनि किशोरी र शिशुको उचित हेरचाह हुन सकेको छैन । आर्थिक अवस्था कमजोर भएकाले आमा र शिशु दुवैको अस्पतालले निःशुल्क उपचार गर्दै आएको छ ।

नयाँ पत्रिका बाट

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice