१३ खर्ब १५ अर्बको बजेट, शिक्षा क्षेत्रमा अधिकतम लगानी

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७५/०७६ का लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट ल्याएको छ। अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गरेका हुन् ।

सबैभन्दा धेरै शिक्षा क्षेत्रका लागि १ खर्ब ३५ अर्ब रुपैयाँ छुट्याइएको छ। यस्तै, स्वास्थ्यमा ५६ अर्ब रुपैयाँ विनियोजन गरिएको छ। अर्थमन्त्री डा. खतिवडाले मंगलबार प्रस्तुत गरेको बजेट बक्तव्य अनुसार आर्थिक वर्ष ०७५/७६ को बजेट कार्यान्वयनबाट ८ प्रतिशत आर्थिक वृद्धिदर कायम हुने बताएका हुन् । उनले बजेट कार्यान्वयनबाट ५ लाख जनाले रोजगारी पाउने र मूल्यवृद्धि ५ प्रतिशतमा सीमित हुने पनि बताएका छन् । यो बजेट अघिल्लो आर्थिक वर्षको भन्दा ३७ अर्बले बढी हो। अघिल्लो आर्थिक वर्षमा कुल १२ खर्ब ७८ अर्बको बजेट प्रस्तुत गरिएको  थियो चालू आवमा भने सरकारले ७.२ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएको थियो । तर, चालू आवमा ५.९ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल हुने प्रक्षेपण अर्थ मन्त्रालयले गरेको छ ।

गत आव २०७३/७४ मा सरकारले ७ दशमलव ३५ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेकामा यस्तो अंक ६.५ मा सीमित भएको थियो । जुन विगत अढाई दशक यताकै उच्च आर्थिक वृद्धिदर थियो । गत आवदेखि सरकारले उच्च आर्थिक वृद्धिदरको लक्ष्य लिँदै आएको छ । पछिल्लो एक दशकको आर्थिक वृद्धिदर औसत ४.३ प्रतिशत छ ।

गत ७ जेठमा सरकारले जारी गरेको आव २०७५/७६ को बजेटका नीति तथा कार्यक्रममा आगामी पाँच वर्षमा दोहोरो अंकनजिकको र पाँच वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्ने उल्लेख गरेको थियो । नेपालीको हालको प्रतिव्यक्ति आयलाई आगामी पाँच वर्षमा दोबर बनाउने, १० वर्षभित्र नेपाललाई मध्यम आय भएको मुलुकमा स्तरोन्नती गर्ने र निर्धारित समयअगावै दिगो विकासका लक्ष्य हासिल गर्ने लक्ष्य उक्त नीति तथा कार्यक्रममा उल्लेख थियो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice