भारतीय जेलबाट २४ वर्षपछि फर्किए गणेश

कञ्चनपुर । युवा अवस्थामै कमाउनका लागि भारत पुग्नुभएका शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका ५५ वर्षीय गणेश ऐरले आधा जीवन जेलमा बस्नु पर्ला भनेर सपनामा समेत चिनाएको थिएन ।

कमाउनका लागि भारततर्फ जाने बेला रु चार हजार मूल्यबराबरका क्यामेरा, क्यामेराको रिल, टेपरेकर्डर र आवश्यक कपडा बोकेर निस्किएका गणेश ऐरले त्यही सामानले भारतमा २४ वर्ष जेल जीवन बिताउन बाध्य बनायो ।

पञ्जाव प्रान्तको जालन्धर नाकामा भारतीय प्रहरीले जाँच गर्दा झोलामा ती सामान फेला पारेपछि तस्करीको आरोपमा ऐरललाई जालन्धरको कपुरथला सेन्टर कारागारमा पुर्‍याइए र पूरै युवा उमेर सोही कारागारमा बिताए । कारागारबाट छुट्नका लागि वकिलको व्यवस्था गर्न नसक्दा र आफन्तले खोजखबर नपाउँदा लामो समय कारागार बस्नु परेको ऐरले बताए ।

कारागारमा रहँदा दुई छाक खानबाहेक अन्य सुविधा दिइएको थिएन ऐरलले भने , “ कारागारमा कैदीका लागि खाना पकाउने र कपडा सफा गर्ने कार्यमा लगाइन्थ्यो तर अन्य कैदीसरह दैनिक दिइने पैसा समेत दिने गरिएको थिएन ।” कमाउने पूरै उमेर कारागारमा बिताएपछि छ महिनाअघि उहाँलाई रिहाइ गरिएको हो ।

रिहाइ भएपछि काठ बोक्ने ट्र्याक्टरमा काम गर्न थालेँ । सोही क्रममा नेपालीसँग भेट भयो । मैले तपार्इंहरु नेपाली हो भनेर सोधेँ ऐरलले भने, “उनीहरुले नेपाली भएको बताएपछि आफ्नो सबै कथा व्यथा सुनाएँ ।

उनीहरुले फेसबुकमा मेरो फोटो र अवस्थाबारे लेखेर नेपालमा रहेका आफन्तलाई पठाए । छोराहरुले जानकारी पाएपछि खोज्दै भारत पुगेर भेटी घरमा ल्याए ।” सोमबार मात्रै गणेश ऐर घर पुगेको हो । जेठो छोरा आठ वर्ष र कान्छो छोरा डेढ वर्षको छँदा उहाँ भारततर्फ लागेको थियो । श्रीमतीले छोराले फेसबुकमा देखाइएका बुबा नै भएको बताएपछि उनीहरु चार दिनका लागि भारत जाँदै छौँ भनेर गएका गणेशकी श्रीमती ईश्वरीदेवीले भने , “धेरै ठाउँमा खोजतलास गर्दासमेत भेटाउन सकेका थिएनौँ ।”

“यहाँबाट भारत जाने क्रममै भारतीय प्रहरीले तस्करीको आरोप लगाएर कारागार पुर्‍याएछन् । पूरै जीवन कारागारमा काटे पनि मर्ने बेला भेट्न पाउँदा निकै खुसी छौँ”,श्रीमती ईश्वरीदेवीले भने ।

भारतका धेरै ठाउँमा खोजतलास गर्दासमेत नभेटेपछि कुसको मूर्ति बनाएर किरिया गर्ने भनेर आफन्तमा कुरा चल्दै थियो भतिजा रमेशबहादुर ऐरले भने , “भेटिएपछि खुसीको सीमा नै रहेन ।”

वर्षौंअघि हराउनुभएका ऐरललाई भेटेपछि गाउँका सबै बासिन्दामा खुशियाली छाएको छ । गाउँका सबैजना भेट्न उहाँको घरमा जम्मा हुन थालेका छन् । कारागार पर्नुअघि र परेपछिको कुरा भेट्न आउने सबैलाई गणेशले बिनाहिचकिचाहट सुनाउने गरेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice