पुलिसलाई हराउँदै च्यासलले जित्यो राइनो गोल्डकप

काठमाण्डौ । ललितपुरको ए डिभिजन क्लब च्यासल युथ क्लबले राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।नवलपरासीमा बिहिबार भएको फाइनलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ५ – ३ ले हराउदै च्यासलले उपाधि जितेको हो । उपाधिसंगै च्यासलले ४ लाख ९९ हजार ५ सय ५५ नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता पुलिसले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँमा चित्त बुझायो ।

खेलमा निर्धारित ९० मिनेट र थपिएको १५ मिनेटको अतिरिक्त समय २ ( २ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । जसमा च्यासलले बाजी मार्यो । च्यासलका लागि बिमल घर्तिमगर, संजोक राई, छिरिङ गुरुङ, विश्व अधिकारी र देबेन्द्र तामाङले पेनाल्टीमा गोल गरेका थिए । पुलिसका तेज तामाङले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार पोलमा लागेर फर्किएको थियो । पुलिसका रेजीन सुब्बा, अजित भण्डारी र दिनेश राजवंशीले पेनाल्टीमा गोल गर्न सफल भए ।

प्रतियोगितामा च्यासलले हिमालयन शेर्पा क्लबलाई ४–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । यस्तै पुलिसले बिरगंज युथ क्लबलाई हराएर फाइनलमा पुगेको थियो । प्रतियोगितामा १२ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search