नेपाल इन्जिनियरिङ्ग एशोसिएसन, चुनाव : सन्दर्भ र सान्दर्भिकता

                                                                                                               -योगेन्द्र थापा
                                                                                                      -जियोटेक्निकल इन्जिनियर
                                                         -एनइए इन्जिनियरिङ्ग कम्पनि लिमिटेड, थापाथलि काठमाडौं

 

समग्र इन्जिनियरिङ्ग समुदायको ध्यान यहि मंसिर २८, मा हुन गईरहेको Nepal Engineer’s  Association (NEA),३२ औं कार्यकारिणि समितिको चुनावतिर केन्द्रित भइरहेको छ ।

Nepal Engineer’s  Association (NEA),   १९६२ मा स्थापित भै नेपाल सरकारको Civil Service Act अन्र्तगत दर्ता भएको नाफारहित पेशागत संगठन हो । जसमा अहिलेको आंकडा अनुसार २५००० भन्दा बढि इन्जिनियर सदस्य छन् । यो चुनाव इन्जिनियरिङ्ग समुदायको नेतृत्व गर्न पाउने सुनौलो अवसर भएको हुँदा ब्यापक रुपमा प्रचार प्रसार गरिनु अन्यथा हुँदैन । त्यसैले समग्र सामाजिक सञ्जाल फेसबुक, ट्वीटर अहिले आ–आफ्ना समर्थन गरिएका उम्मेदवारको समर्थन र मत अभिमत जाहेर गर्ने थलो बनेको छ ।

अहिलेको चुनावको महत्व र सान्दर्भिकता इन्जिनियरिङ्ग पेशालाई सम्मानित-मर्यादित पेशाको रुपमा बिकास गर्न के कस्तो भुमिका अब निर्बाचित हुने प्रतिनिधिले खेल्नेछन् भन्ने बिषयसंग गासिएको छ ।Nepal Engineer’s  Association (NEA) तब मात्र ब्यबहारमा वास्तबिक पेशागत संगठनको रुपमा दर्ज हुन्छ जब राजनीति इतरका हजारौं इन्जिनियर यस संस्थामा गोलबन्द हुन लालायित हुन्छन् ।

विगतको अनुभव र अबको बाटो :

केही अपवाद बाहेक नेपाल इन्जिनियरिङ्ग एशोसिएसनको चुनाव समग्र इन्जिनियर हकहितको लागि भन्दा पनि राजनैतिक नियुक्ती प्राप्त गर्न Face Exposure को रुपमा मात्र प्रयोग भएको पाइन्छ । समग्रमा जो इन्जिनियरिङ्ग क्षेत्रमा आफ्नो विवेक, पसिना र श्रम प्रयोग गरिरहेका छन् जसको हकहितको सवाल उठाउने हिम्मत र सुनिश्चितताको लागि संघर्ष आजसम्मका कुनैपनि बिजेता/उपबिजेता नेतृत्वले गर्न नसकेको तीतो यथार्थ हाम्रो सामु रहेको छ ।

नेपाल सरकारको समुन्नत नेपाल प्रदान गर्न आबश्यक आर्थिक समृद्धिको नारा इन्जिनियरिङ्ग समुदायको ज्ञान, सीप, दक्षता र निरन्तर समर्पणमा भर पर्छ भन्ने तथ्य लुकाईरहनु पर्दैन । सरकारी नीतिमा रहेका विविध बिभेदकारी नीतिहरु जो इन्जिनियरिङ्ग समुदायलाई अवमूल्यन गर्दै बारम्बार घोचिरहन्छन् त्यसमा पुर्नविचार गर्न सरकारलाई घचघच्याउनु आजको सन्दर्भमा अपरिहार्य हुन आउँछ ।

सरकारी गौरवका आयोजना परिलक्षित जलविद्युत, रेल, सुरुङ्गमार्ग जस्ता भौतिक पूर्वाधार नैतिकवान, सक्षम, प्रतिवद्ध र सदाचारी इन्जिनियरिङ्ग समुदायविना संभव छैन । एकातिर राष्ट्रिय गौरवका आयोजनाको परामर्श, डिजाइन, डिपिआरको नाममा अरबौं डलर बिदेशिइरहेको छ भने अर्कोतिर हामी धेरै नेपाली इन्जिनियर न्युन तलब/बेरोजगारीको सामना गरिरहेका छन् । यो बिरोधाभाषको खोजी र अन्तरविरोधको सहि समाधान आजको टड्कारो माग हो ।

गुणस्तरिय इन्जिनियरिङ्ग शिक्षाको सुनिश्चितता, फितलो इन्जिनियरिङ्ग काउन्सिल दर्ता प्रणाली, Graduate भइसकेपछि सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्न उत्कृष्ट Platform प्रदान गर्न सक्यो भनेमात्र पनि बेरोजगारी समस्या समाधान र आयातित परामर्शदाताको खोजीमा प्रयोग हुने अरबौं डलर रोक्न सकिन्छ । अर्कोतर्फ केही ठूला भनिने नेपाली परामर्शदाता र ठेकेदार कम्पनीको चरम लापरवाही, दलाली प्रवृति, मिलिभगतमा हुने सेटिङ्ग रोक्नु र उनिहरुले गरिरहेको चरम इन्जिनियरिङ्ग श्रम शोषणको विरुद्धमा आवाज उठाउन हिम्मत गर्ने र लड्ने नेतृत्व आजको आवश्यकता हो ।

वर्तमान सन्दर्भमा समग्र क्षेत्र राजनैतिक हस्तक्षेपको शिकार भइरहेको छ । यसमा इन्जिनियरिङ्ग क्षेत्र पनि अछुतो छैन । योजना निर्माण र डिजाइनमा स्वतन्त्रतापूर्वक ज्ञान, सीपको प्रयोग गर्न पाउनु आम इन्जिनियरको नैसर्गिक अधिकार हो तर विभिन्न राजनीतिक रङ्गमा स्वार्थप्रेरित काम गर्न बाध्य पार्नु र इच्छामुताबिक नभए भौतिक आक्रमणमा समेत उत्रिएका घटना सतहमा आईरहेका छन् । जसमा पेशागत सुरक्षाको प्रत्याभूत गर्न NEA ले अभिभावकीय भूमिका निभाउन अत्यन्त आवश्यक छ ।

आजको युग विज्ञान प्रबिधिको युग हो जसको समुचित प्रयोग र विकासबिना कुनै पनि राष्ट्रको समुन्नति संभव छैन । अनुसन्धानात्मक कार्य गर्न आवश्यक वातावरण तयार गर्न र यसको महत्व उजागर गर्दै सरकारको ध्यान यसतर्फ मोड्न विशेष पहलकदमि लिन पनि प्रतिबध्द र जुझारु NEA नेतृत्व समयको माग हो । देश विदेशमा रहेका समग्र इन्जिनियर समुदायलाई गोलबन्द गर्दै सरकारको योजना निर्माण र कार्यान्वयनको सेतु बन्नसक्ने महान अवसरको सदुपयोग गर्न NEA एउटा बलियो आधारभुमि हुनसक्छ ।

निर्कषमा भन्नु पर्दा कुनैपनि राज्यको अर्थतन्त्र चलायमान बनाउन र आर्थिक समृद्धिको उचाई चुम्न आवश्यक र अपरिहार्य प्राबिधिक जनशक्तिको उपेक्षा यो वा त्यो बहानामा राज्य वा राज्यइतरका संरचनाबाट भइरहेको देखिन्छ ।

आयातित परामर्शदाता कम्पनीको केही थान प्राविधिक जनशक्तिबाट केही दशक त काम लिन सकिएला तर आफ्नै माटोको सुगन्ध बोकेर हुर्केको प्राविधिक ज्ञानले पूर्ण जनशक्तीबिना आर्थिक समृद्धिको घोषणा घोषणापत्रमा मात्र सिमित रहनेछ ।

तसर्थ अबको  NEA नेतृत्वले समग्र इन्जिनियरको अधिकार र सम्मानित/मर्यादित इन्जिनियरिङ्ग पेशाको खातिर नयाँ शिराबाट कदम उठाउन आवश्यक छ जसले NEA को गरिमा साँच्चै बढाओस् र यसको घेराबाहिर बस्न रुचाउने हजारौं इन्जिनियरसँग हातेमालो गर्न आधार तयार पारोस् ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search