कर्णालीको मुहार चिनियाँ क्षेत्र र भारतीय नागरिकले फेर्छन–योगेन्द्र शाही

काठमाडौँ । कुल जनसंख्याको आधाभन्दा बढि गरिवी रहेको कर्णाली प्रदेशलाई सम्पन्न बनाउन भारतीय नागरिक र चीनियाँ क्षेत्रलाई उपयोगको नीति लिनु पर्ने नयाँ तर्क अगाडी सारिएको छ ।

भर्खर नियुक्त कर्णाली प्रदेश योजना आयोगका सदस्य योगेन्द्र शाहीले भारतीय नागरिक र नेपाल तथा चीनको क्षेत्र उपभोग गर्न सके गरिवी हट्ने दावी गरेका छन् । ‘म दावाका साथ भन्छु, मानसरोवर जाने भारतीय पर्यटकलाई कर्णालीको बाटोबाट चीन पठाउन सके हाम्रो मुहार फेरिन्छ’ शाहीले भने ‘त्यसैका लागि जमुना–हिल्सा फास्ट ट्रयाकको परिकल्पना गरिएको हो ।’

हिन्दुहरुका लागि मानसरोवर निकै ठुलो तिर्थ स्थल हो । प्रत्येक बर्ष लाखौ भारतीय मानसरोवर जाने गरेका छन् । भारत सरकारले पनि मानसरोवर जाने आफ्ना नागरिकलाई एक लाख ५० हजार रकम पनि दिने गरेको छ ।

भारतीय तिर्थयात्रीलाई मानसरोवर जान सवैभन्दा नजिक र सजिलो कर्णालीबाट हुन्छ । ‘भारतीय तिर्थयात्रीलाई यही बाटोबाट ल्याउन जमुना–हिल्सा फास्टट्रयाक बन्न जरुरी छ’ शाहीले भने ‘यसका लागि कर्णाली प्रदेश सरकार र चीनियाँ कम्पनीबीच काम अघि बढिरहेको छ ।’ केही समयअघि चिनिया कम्पनीका प्रतिनिधिसहित प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, अर्थ योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल विपक्ष दलका नेता जीवनबहादुर शाहीले हवाई सर्वे पनि गरेका थिए ।

कर्णाली क्षेत्र कुनै समय देशकै धनी क्षेत्र थियो । फलफुलदेखि अन्न उत्पादन, पशुपालनदेखि जडीबुटीसम्म प्रसस्त उत्पादन हुने गर्दथ्यो । तर समयको क्रमसँगै विकास हुन नसक्दा देशकै गरिव क्षेत्र बनेको छ । ‘कर्णालीको जडिबुटी, रारा–फोक्सुन्डो जस्ता पर्यटकीय स्थल र जमुना–हिल्सा फास्टट्रयाकमा मात्र ध्यान दिइयो भने केही बर्षमै फेरी कर्णाली देशकै धनी क्षेत्र हुन्छ’ शाहीले भने ।

 

प्रतिक्रिया दिनुहोस्
X
Type to search