न्याय माग्दै निर्मलाको तस्बिर अब ब्याग, ज्याकेट र मोटरसाइकलमा

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै स्वतन्त्र युवाहरुको समूहले आफ्नो ज्याकेट, ब्याग र मोटरसाइकलहरुमा तस्विर सहितको स्टिकर टाँस्न थालेका छन् ।

केहि दिन अघि मात्रै बिजुलीका पोलमा टाँसिएका निर्मलाको तस्विर अंकित पोस्टरहरु प्रहरीले च्यातेर फाल्न थालेपछि युवाहरुले आफूले लगाउने ज्याकेट र ब्यागहरुमा स्टिकर टाँस्न थालेका हुन् ।

उनिहरुले टासेको स्टिकरमा निर्मलाको तस्बीरसँगै ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको छ । युवाहरुको समूहले सवारीसाधन, ज्याकेट, क्याप र झोलामा ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको स्टिकर टाँस्ने अभियान सुरू गरेको हो । यसो गर्दा प्रहरीले च्यातेर फाल्न नसक्ने उनीहरुको ठहर रहेको छ ।

युवाहरुले यस्तो तस्वीर अंकित स्टिकर आ–आफ्नो ब्याग, ज्याकेट र गाडीमा टाँस्न अरुलाई पनि आह्वान गरेका छन् ।

केहि दिन अघिदेखि यो समूहले काठमाडौं उपत्यकासहित, कास्कीलगायतका जिल्लाहरुका सार्वजनिक स्थानमा निर्मला पन्तको तस्विर सहित ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको पोस्टर टाँसेको थियो । तर, प्रहरीले पोस्टर च्यात्ने र पोस्टर टाँस्नेहरुलाई पक्रिने काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search