गोठाला जाँदा केतकीको वला बजाउँदा…युवा–युवतीबाट जन्मिएको एउटा नाच (भिडियोसहित)

सल्यान । सांस्कृतिक पहिचानका आधारमा सल्यानलाई चार उपक्षेत्रमा बाँड्ने गरिन्छ– १. राप्ती लोकमार्ग र खलंगा आसपासका मुख्य क्षेत्र २. रामपुर, कालीमाटी काभ्रा र आसपासको मिश्रित सांस्कृतिक क्षेत्र ३. रोल्पाली संस्कृतिसहित सल्यानमा गाभिएको क्षेत्र र ४. वनगाड क्षेत्र ।

सल्यानको पश्चिमउत्तर क्षेत्रलाई वनगाड भनेर चिनिन्छ । भेरी किनार, संग्रही खोला र वनगाड खोला आसपासका वामे, देवस्थल, मूलखोला र घाँजरीपिपल गाउँहरूले ओगटेको क्षेत्र नै वनगाड हो । घना वन–जंगल र त्यहाँ बग्ने खोला (गाड) का कारण यस क्षेत्रको नाम वनगाड रहन गएको स्थानीयको भनाइ छ । लोक संस्कृतिको उद्गमता र उपभाषिक बनोटले यस क्षेत्रको पहिचान अरूभन्दा भिन्न मानिन्छ ।

वनगाड क्षेत्रमा प्रचलित वनगाडी नाचलाई सल्यानी टप्पा भनिन्छ । ‘मध्यपश्चिमका लोकभाका’ पुस्तकका लेखक खड्क बुढाका अनुसार प्राचीन कालमा युवायुवती वनगाडमा गोठाला जाँदा केतकीको वला बजाउँदै दोहोरी गीतमा सवाल–जवाफ गर्थे र नाच्थे । यसरी वनगाडी टप्पाको जन्म भयो । यो क्षेत्र लघुउद्यमका कारण पनि परिचित छ । ठेटुवा कपडा उत्पादनको सुरु यहीँबाट भएको मानिन्छ । टिमुर, काउलो, रिठा, चोथ्रा र कुरिलोजस्ता जडीबुटीबाट बुनिने ठेटुवाको माग कुनै बेला उच्च थियो ।

यस क्षेत्रको वनगाडी टप्पालाई सिंगारु नाच पनि भनिन्छ । सिंगारुले मध्यपश्चिम क्षेत्रकै सर्वाधिक लोकप्रिय नाचका रूपमा ख्याति कमाएको छ । यहाँका लहरे, सैरेली, खाडो नाचका साथै झारी, ठारी भाका, विभिन्न खालका कर्खा खस संस्कृतिका पहिचान हुन् । वनगाड क्षेत्रको जरन धानको चामल र लहरे मासको दाल पनि प्रसिद्ध छ । अत्यन्तै स्वादिलो मानिने जरन धानको चामल लोपोन्मुख छ । यो क्षेत्र धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनको संयुक्त सम्भावना बोकेको क्षेत्र हो । योजनाबद्ध रूपमा पूर्वाधार निर्माण गरी वनगाड क्षेत्रलाई पर्यटन आर्कषणको केन्द्र बनाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search