मनाङ मर्स्याङ्दीको लगातार छैटौं जित, जावलाखेल १-० गोल अन्तरले पराजित

काठमाडौं । सहिद स्मारक ‘ए’  डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले लगातार छैटौं जित हात पारेको छ ।

बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा ग्रान्डमास्टर जावलाखेल युथ क्लबलाई १ ० गोल अन्तरले पराजित गर्दै जित हात पारेको हो ।

मनाङलाई जित दिलाउन अन्जन बिष्टले निर्णायक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा पाएको पेनाल्टीमा गोल गर्दै अन्जनले मनाङलाई ३ अंक दिलाएका हुन् ।

खेलको ६२ औं मिनेटमा मनाङका अडेलाजालाई जावलाखेलका खेलाडीले लडाएपछी पाएको पेनाल्टीमा अन्जनले गोल गरेका हुन् । खेलको अन्तिम समयमा जावलाखेल बराबरी गर्नबाट चुकेको थियो ।

त्यसअघि पहिलो हाफमा मनाङले बल पोजिसनमा पकड जमाएपनि जावलाखेलविरुद्ध गोल गर्न सकेको थिएन । जावलाखेलका गोलकिपर टेकेन्द्र थापाले उच्च प्रदर्शन गरेपछि मनाङ गोल गर्न असफल भएको हो । पहिलो हाफको छैटौं मिनेटमा मनाङका अन्जन बिष्टको प्रहार थापाले मुस्किलले बचाएका थिए ।

जितसंगै मनाङको ६ खेलबाट १८ अंक जोडेको छ । मनाङ लिगमा शतप्रतिशत जित निकाल्ने एक्लो टोली हो । मनाङले दोस्रो स्थानको संकटाविरुद्ध ३ अंकले अग्रता बनाएको छ ।

पराजित जावलाखेल ४ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search