कर्णाली संसदीय दलको विवाद टुंगियो, मुख्यमन्त्री शाही दलको नेता चयन

काठमाडौं । लामो समयको छलफल र बहसपछि नेकपाले कर्णाली प्रदेश संसदीय दलको नेता चयन गरेको छ । १२ मंसिरमा बसेको पार्टी सचिवालय बैठकले वर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई संसदीय दलको नेता चयन गरेको हो । सचिवालय बैठकले मुख्यमन्त्रीलाई नै संसदीय दलको नेता बनाउने नजिर स्थापित गर्दै शाहीलाई दलको नेता चयन गरेको हो ।

एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुँदा २ संसदीय दल, २ नेता थिए । दुई संसदीय दललाई एउटा बनाउन कुनै समस्या भएन तर दुई संसदीय दलका नेता एक बनाउन निकै सकस परयो । दुई नेताको सशक्त दावीका कारण कर्णाली प्रदेशमा नेकपाले संसदीय दलको नेता चयन गर्न सकेको थिएन । पूर्व एमालेका तर्फबाट यमलाल कँडेलले संसदीय दलको नेतामा दावी गरिरहेका थिए भने, पूर्वमाओवादीका तर्फबाट शाहीले दावी गरिरहेका थिए ।

दुई पार्टीको भागबन्डामा कर्णाली पूर्वमाओवादीको भागमा परेको थियो । पूर्वमाओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाही मुख्यमन्त्री बनेका थिए । तर पूर्वएमाले संसदीय दलका नेता यमलाल कँडेलले भने आधा आधा समय बाँड्नु पर्ने सर्त राखेपछि संसदीय दलको नेता चयन हुन सकेको थिएन ।

५ वटा प्रदेशमा मुख्यमन्त्री नै संसदीय दलको नेता चयन भइसकेका छन् । तर कर्णाली प्रदेशमा मुख्यमन्त्रीलाई संसदीय दलको नेता बन्न निकै कसरत गर्नु परयो । अन्तः सचिवालय बैठकले दुई नेताको विवादलाई अन्त्य गर्दै शाहीलाई नेता चयन गरेको छ । अर्का नेता कँडेललाई पार्टीको कर्णाली प्रदेश सहसंयोजकको जिम्मेवारी दिएको छ ।

सचिवालय बैठकले दलको नेता टुंगो लगाएपछि संसदीय दलको बैठक बोलाइएको छ । २२ मंसिरका संसदीय दलको बैठक बोलाइएको सांसदहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search