म बरु राजीनामा दिन्छु, तत्कालै मलेसियाको रोजगारी खोल्दिँन–मन्त्री गोकर्ण बिष्ट

काठमाडौं । मलेसियासँग भएको श्रम सम्झौता कार्यान्वयन र रोजगारी खुलाउन चौतर्फी दवाव परेपनि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले आफनो अडान छोेडेका छैनन् । रोजगारीमा जाने नागरिक र पार्टी नेताहरुले चर्काे दवाव दिएपनि उनी आफ्नो अडानमा टेकिरहेका छन् ।

‘म बरु पदबाट राजीनामा दिन्छु, नयाँ सिस्टम सुरु नभएसम्म मलेसियाको रोजगारी खोल्दिँन’ बुधवार सिंहदरवारमा भएको छलफलमा मन्त्री बिष्टले भने ‘ब्यवसायी साथीहरुले मलाई जति सक्नुहुन्छ दवाव दिनुहोस, तर म गल्ने पक्षमा छैन ।’

नेकपाभित्र श्रम विभाग हेरिरहेका नेताहरु लेखराज भट्ट, मुकुन्द न्यौपाने, प्रकाश ज्वाला छलफलमा सहभागि थिए । ब्यवसायी समेतलाई बोलाइएको छलफलमा उनले नयाँ सिस्टम लागु नभएसम्म श्रम सम्झौता कार्यान्वयन नगर्ने अडान राखे । श्रम सम्झौता भएको दुई महिना पुग्न लाग्दा समेत कार्यान्वयनमा आउन सकेको छैन ।

मन्त्री बिष्टको मुल उदेश्य ‘भेण्डर’ संस्थाका सञ्चालक परिवर्तन गर्ने हो । श्रम सम्झौतामा उल्लेख भएका भीएलएन, आइससी जस्ता संस्थाका सञ्चालक परिवर्तन नभएसम्म श्रम सम्झौता कार्यान्वयन नगर्ने अडानमा मन्त्री बिष्ट रहेका छन् । मलेसिया सरकारले भने सम्झौता कार्यान्वयन गर्न नेपाल सरकारलाई दवाव दिइरहेको छ ।

मलेसियाको रोजगार बन्द हुँदा हजारौ कामदार मर्कामा परेका छन् । १० हजारभन्दा बढिको भिसा लागेर पनि मलेसिया पुग्न सकेका छैनन् । मन्त्री बिष्ट भने भेण्डर संस्थाका सञ्चालक परिवर्तन नगरेसम्म श्रम स्वीकृति नदिने पक्षमा उभिएका छन् ।

भेण्डर संस्थाहरु हत्याउन एउटा समुह मन्त्रीको वरीपरी घुमिरहेको छ । पूजा चन्ददेखि रघु पुरीसम्मका ब्यक्तिहरु सिहदरवारदेखि मलेसियासम्म दौड लगाइरहेका छन् । मलेसियाका मानव संशाधन मन्त्रीका पीएहरुसँग सम्बन्ध गाँसिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search