नेकपा अध्यक्षद्वय ओली र प्रचण्डसहित २१ जना विरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौँ । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओली र अर्को अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च आदालतमा रिट दायर भएको छ ।

ग्रामथान गाउँपालिका वडा नम्वर ३ मोरङका ३८ वर्षीया झलक कुमार भगतले रिटमा प्रधानमन्त्री ओली सहित शान्ति सम्झौताका हस्ताक्षरकर्ता तत्कालीन नेकपा माओवादी र हाल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रामबहादुर थापा बादल, प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित २१ जनालाई विपक्षी बनाई मुद्दा दर्ता गरेका हुन् ।

भगत नेपाली सेनाका भगौडा सिपाई हुन् । उनी २०६२ साउन ८ गते तत्कालिन शाही नेपाली सेनाबाट ‘विद्रोह’ गरी माओवादी सेनामा गएका थिए । माओवादी शान्ति प्रक्रियामा आएपछि उनले वाइसीएलको स्थानीय नेताका रुपमा समेत काम गरेको बताइएको छ ।

उनलाई २०७४ मंसिर ८ गते राति आफ्नै निवासबाट मोरङ प्रहरीले पक्राउ गरी नेपाली सेनाको पूर्वी पृतना इटहरीको जिम्मा लगाएको थियो ।प्रहरीले उनलाई निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ गरेको थियो ।

भगतविरुद्ध २०७४ पुस १७ मा सैनिक अदालतबाट सर्वस्वसहित जन्मकैदको फैसला भएको थियो । हाल उनी मकवानपुरको भीमफेदी कारागारमा रहेका छन् ।

रिट निवेदकका पक्षबाट वरिष्ठ अधिवक्ताहरु कृष्णप्रसाद भण्डारी, शम्भु थापा, हरि फुयाँल, रमणकुमार श्रेष्ठ, गोविन्द बन्दी, बालकृष्ण न्यौपाने, उपेन्द्रकेसरी न्यौपाने, तुलसी भट्ट, शेरबहादुर केसी, रामप्रसाद श्रेष्ठ र एकराज भण्डारीले बहस गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search