‘विज्ञान-प्रविधिको लागि उपयुक्त व्यवस्था समाजवाद हो’ : रमेश सुनुवार

(नेपालमा यो वा त्यो अर्थमा समाजवादबारे बहस तातिरहेको छ । कसैले समाजवाद मानव समाजका लागि नभै नहुने व्यवस्थाको रुपमा बहस गरिरहेका छन् । कसैले समाजवाद वाइयात कुरो हो, कम्युनिस्टहरुको बकवास हो भनेर बहस गरिरहेका छन् । तर समाजवादको पक्षमा सकारात्क सोच राखेर बहस पैरवी गर्नेहरुका लागि यो प्रश्न खडा भएको छ के माक्र्स-एंगेल्सले परिकल्पना गरेको जस्तै प्रक्रिया र विधिबाट समाजवादी व्यवस्था आउन सक्छ त ? अधिकांश माक्र्सवादी अध्यताहरु र कम्युनिस्ट नेताहरु पुरानै तरिका वरिपरि रहेर समाजवाद ल्याउने कसरत र बहस पैरवि गरिहरहेका छन् । यस्तै बहस पैरवीमा भिन्न विधि र प्रक्रियाबाट वैज्ञानिक समाजवाद आइरहेको देख्ने समाजवादी चिन्तक रमेश सुनुवारको अवधारण बारे हरेक समाजवादीहरुले बहसमा भाग लिन आवश्यक ठानेर यो लेख प्रकाशन गरिएको छ ।)

विज्ञान–प्रविधि र समाजवाद

लेखक : रमेश सुनुवार

 विज्ञान–प्रविधिको विकास आधुनिक युगको एउटा प्रमुख घटना हो । यसबाट मानव समाजको इतिहासमा ठूलो परिवर्तन भएको छ । यसको वर्तमान चरण वैज्ञानिक–प्राविधिक क्रान्ति हो ।

बीसौं शताब्दीको मध्यबाट विज्ञान र प्रविधिको विकासमा, तिनीहरुको बीचको सम्बन्धमा, उत्पादनसँग विज्ञान–प्रविधिको सम्बन्धमा र उत्पादक शक्तिहरुको सम्पूर्ण प्रणालीको विकासमा गुणात्मक छलाङ्ग देखिनलाग्यो, जसलाई वैज्ञानिक–प्राविधिक क्रान्ति भनिन्छ । यो क्रान्ति हाम्रो शताब्दीको लागि एउटा महानतम परिघटना हो र यसको महत्व निरन्तर बढिरहेको छ । मानवजातिको इतिहासमा विज्ञान, प्रविधि र समाजका उत्पादक शक्तिहरुको विकास यति उच्चस्तरमा कहिल्यै पुगेको थिएन । संसारको बारेमा जरा गाडेर बसेका मान्यताहरुको खण्डन गर्दै वैज्ञानिक–प्राविधिक क्रान्तिले मानवजातिको प्रगतिलाई अझ तीव्र बाइदिएको छ ।

वैज्ञानिक–प्राविधिक क्रान्तिले मानवसमाजको सामु प्रकृतिको रुपान्तरणको लागि, विशाल भौतिक सम्पदाको सृष्टिको लागि र मानवका सृजनात्मक योग्यताहरु बढाउनको लागि अभूतपूर्व संभावनाहरु उत्पादन गरेको छ । यसको प्रभाव समकालीन मानवको क्रियाकलापका सबै क्षेत्रहरुमा परेको छ ।

मानवजातिको इतिहासमा विज्ञान, प्रविधि र समाजका उत्पादक शक्तिहरुको विकास यति उच्चस्तरमा कहिल्यै पुगेको थिएन । संसारको बारेमा जरा गाडेर बसेका मान्यताहरुको खण्डन गर्दै वैज्ञानिक–प्राविधिक क्रान्तिले मानवजातिको प्रगतिलाई अझ तीव्र बाइदिएको छ ।

वैज्ञानिक¬–प्राविधिक क्रान्तिको अर्थ उत्पादक शक्तिहरुको समुच्च प्रणालीमा आमूल, गुणात्मक परिवर्तन हो, जुन विज्ञान, प्रविधि र उत्पादनको विकासको एकीकृत प्रक्रियाको परिणाम हो । यसको आरम्भ शुरुमा स्वचालित यन्त्र, परमाणु र नाभिकीय उपकरणहरु तथा कम्प्युटरको निर्माण, कृत्रिम भू–उपग्रहको प्रक्षेपण, पूर्र्वनिर्दिष्ट गुणहरु भएका पदार्थहरुको रासायनिक संश्लेषण, सूक्ष्म इलेक्ट्रोनिक्सको खोजजस्ता अद्वितीय उपलब्धिहरुबाट भयो । आफ्नो विकासको क्रममा यसले उत्पादनको प्राविधिक आधारमा श्रमका औजारहरु र वस्तुहरुमा तिनीहरुको रुप र सारमा आमूल परिवर्तन ल्याउँदछ ।

वर्तमान वैज्ञानिक–प्राविधिक क्रान्ति कुनै अलग–अलग वैज्ञानिक खोजहरु अथवा प्राविधिक उपलब्धिहरुसँग होइन, बरु भौतिक उत्पादनका आवश्यकताहरुबाट उत्प्रेरित सम्पूर्ण ज्ञानभण्डारको चौतर्फी विकाससँग, विज्ञानको प्रत्यक्ष उत्पादक शक्तिमा रुपान्तरणसँग, प्रविधि, उत्पादन र समुच्च समाजको प्रगतिमा त्यसको बढ्दो भूमिकासँग जोडिएको छ ।

वैज्ञानिक–प्राविधिक क्रान्ति उत्पादक शक्तिहरु, विज्ञान र प्रविधिको विकासको प्राकृतिक तथा ऐतिहासिक प्रक्रियाको अनिवार्य र नियमसंगत चरण हो । यसको आरम्भ यान्त्रिक उत्पादनको सार्विक प्रगतिको कारणले भएको थियो र यो त्यसको थप विकासको एउटा चरण हो । यो यन्त्रीकृत उत्पादनबाट स्वचालित उत्पादनमा संक्रमणको सूचक हो । यसको तयारीमा सैद्धान्तिक ज्ञानको विकासको महत्वपूर्ण स्थान छ । उन्नाइसौं शताब्दीको अन्त्य र बीसौं शताब्दीको आरम्भमा भएको प्रकृति विज्ञानको क्रान्तिले यसको विराट सैद्धान्तिक पूर्वाधारको काम गरेको थियोे, जुन सूक्ष्म जगतको खोजसँग, पदार्थको बारेमा पुरानो धारणाको खण्डन र परमाणुको संरचना सम्बन्धी नयाँ सैद्धान्तिक विचारसँग जोडिएको थियो । त्यसैगरी गणित, रसायनविज्ञान, जीवविज्ञान, आदि विभिन्न विज्ञानहरुमा प्राप्त गरिएका सफलताहरु पनि वैज्ञानिक–प्राविधिक क्रान्तिको लागि धेरै उपयोगी भए । वास्तवमा प्रकृति विज्ञानहरुको विकासको उच्चस्तर नै त्यो तत्व थियो, जसबाट विज्ञान–प्रविधिमा नयाँ छलाङ्ग संभव थियो ।

उन्नाइसौं शताब्दीको अन्त र बीसौं शताब्दीको आरम्भमा विज्ञानमा एउटा क्रान्ति सम्पन्न भयो, जुन इलेक्ट्रोन, एउटा तत्वको परमाणु अर्को तत्वको परमाणुमा रुपान्तरण र पदार्थ र शक्तिको परस्पर सम्बन्धको उद्घाटनसँग सम्बन्धित थियो । फलस्वरुप बीसौं शताब्दीको मध्यमा भएको औद्योगिक क्रान्ति वैज्ञानिक–प्राविधिक क्रान्तिमा बदलियो । त्यसबेला प्राविधिक विकास केवल वैज्ञानिक आधारमा मात्र भयो र यसले उत्पादनका सबै शाखाहरुलाई तथा श्रमका सबै क्षेत्रहरुलाई समेट्यो । यो क्रान्तिले स्वंय विज्ञानलाई ज्ञानको उद्योग बनाइदियो । वैज्ञानिक–प्राविधिक क्रान्तिको प्रक्रियामा एउटा विकसित समाजवादी समाजको आधार निर्माण भयो ।

वैज्ञानिक–प्राविधिक क्रान्तिका परिणामहरु बीसौं शताब्दीको अन्तिम दशकमा प्रकट हुनलागे । आज यसका स्पष्ट परिणामहरु यसप्रकार छन् : इलेक्ट्रोनिक्सको आधारमा उत्पादन प्रक्रिया र जीवनका सबै पक्षहरुको प्राविधिक प्रणालीहरुमा स्वचालनको प्रसार भएको छ, जसले तिनीहरुलाई एउटा स्वयंनियमित एकाई बनाइदिएको छ । इलेक्ट्रोनिक्स र संचारका नयाँ साधनहरुले सूचनाहरुको विस्फोटको स्थिति सृजना गरिदिएका छन् र सूचनाहरुको प्रवाह अधिकाधिक विश्वव्यापी हुँदै गइरहेको छ । जैविक प्रविधि र जीन इंजिनियरिङ्गले जैविक प्रणालीहरुको उत्पादकत्वलाई कैयौं गुना बढाइदिएका छन् ।

यो क्रान्तिको परिणामस्वरुप निजी स्वामित्वका परिस्थितिहरुमा श्रमजीवीहरुको विशाल समुदाय श्रमका साधनहरुबाट विच्छिन्न हुनु एउटा यथार्थ तथ्य बन्नगएको छ । त्यसैगरी प्राविधिक दृष्टिले विकसित देशहरु र अविकसित देशहरुको बीचको खाडल गहिरो हुँदै गइरहेको छ । यसबाट यो आवश्यक हुनगएको छ कि सामाजिक सम्बन्धहरुमा परिवर्तन हुनुपर्दछ । वैज्ञानिक–प्राविधिक क्रान्तिका भौतिक आधार र परिणामहरुको समाजीकरण हुनुपर्दछ र तिनीहरुको सचेतन नियमन हुनुपर्दछ ।

वैज्ञानिक–प्राविधिक क्रान्तिको युगमा उत्पादक शक्तिहरुको विकासले गुणात्मक रुपमा नयाँ लक्षणहरु प्राप्त गरेको छ ः (१) सबै प्रकारका उत्पादनहरुमा यन्त्रद्वारा क्रमशः मानवश्रमको प्रतिस्थापन, र (२) विज्ञानको आधारमा प्रविधिको विकासतिर संक्रमण र विज्ञानको प्रत्यक्ष उत्पादक शक्तिमा रुपान्तरण ।

वैज्ञानिक–प्राविधिक क्रान्ति त्यसबेला उत्पन्न भयो, जब प्रविधि वैज्ञानिक ज्ञानको मूर्तरुप बन्यो र विज्ञानको विकासले प्राविधिक क्षेत्रबाट समर्थन प्राप्त ग¥यो । फलस्वरुप, विज्ञान र प्रविधिको संयोजन एउटा सामान्य व्यवहार बन्नगयो र बीसौं शताब्दीको वैज्ञानिक–प्राविधिक क्रान्तिले विज्ञानको आधारमा प्रविधिको निरपेक्ष प्रभुत्वलाई जन्म दियो ।

वैज्ञानिक–प्राविधिक क्रान्तिले त्यस युगलाई जन्मदियो, जसमा पदार्थको गतिका अधिक जटिल तथा सूक्ष्म रुपहरुको सचेतन एवं वैज्ञानिक उपयोग प्रारम्भ र ज्ञानका सबै क्षेत्रहरुको एकता यो प्रक्रियाको अनिवार्य भाग बन्दछन् । वैज्ञानिक ज्ञानको संश्लेषणले वस्तुगत विश्वको वास्तविक द्वन्द्वात्मक एकतालाई अभिव्यक्त गर्दछ ।

वैज्ञानिक–प्राविधिक क्रान्तिको एउटा प्रमुख लक्षण के हो भने विज्ञान सामाजिक श्रमको एउटा विशिष्ट अंग बन्नजान्छ र अति उच्च दरमा विकास गर्नलाग्दछ । एउटा लामो यात्रापछि, धार्मिक अथवा सांस्कृतिक तत्वहरुबाट आरम्भ भएर र सौखिन मानिसहरुका प्रयत्नहरुबाट विकसित भएर, आज विज्ञान यो वैज्ञानिक–प्राविधिक क्रान्तिको युगमा ज्ञानउद्योगको रुपमा रुपान्तरित भएको छ र अर्थव्यवस्थाको सर्वाधिक ठूलो र सर्वाधिक गतिशील शाखा बन्नगएको छ । वैज्ञानिक कार्य विशेष प्रकारको सामाजिक श्रम बन्नगएको छ, जसको आफ्नो विशिष्ट उपयोग मूल्य छ र आफ्ना श्रमका उपकरणहरु र साधनहरु छन् । विज्ञानमा गरिने व्यय समाजद्वारा मान्य अनिवार्य एंव विवेकपूर्ण व्यय मानिन्छ ।

वैज्ञानिक–प्राविधिक क्रान्तिको प्रमुख आर्थिक लक्षण के हो भने यो क्रान्तिद्वारा श्रम तथा प्राकृतिक साधनहरुको बचत यस परिमाणमा हुनगएको छ कि वैज्ञानिक ज्ञानको मूर्तीकरण अतिरिक्त मूल्यको प्रमुख स्रोत बन्नगएको छ ।
अब वैज्ञानिक विश्वकृष्टिकोण सामाजिक चेतनाको निर्धारक बनेको छ । सम्पूर्ण संसारमा वैज्ञानिक विचारहरु फैलिरहेका छन्, तार्किक विधिहरु प्रधान हुनगएका छन् र वैज्ञानिक सत्यहरुलाई सामान्य अवधारणाहरुका तत्वहरुको रुपमा स्वीकार गर्नलागिएको छ । वैज्ञानिक आधारमा सामाजिक परिघटनासम्बन्धी जनधारणाको पुनर्निर्माण भइरहेको छ । वैज्ञानिक दृष्टिकोण श्रमिक वर्गहरुको विशाल समुदायको विश्वदृष्टिकोण बन्दै गइरहेको छ ।

विज्ञान–प्रविधिको निर्णायक विकास भएपछि समाजवादको क्षेत्रमा पनि ठूलो परिवर्तन आएको छ । यो परिवर्तनलाई यसप्रकार वर्णन गर्नसकिन्छ– (१) नयाँ उत्पादक शक्तिको आगमन, (२) क्रान्तिको नयाँ विधिको आवश्यकता र (३) समाजवादको निकटता ।

१. नयाँ उत्पादक शक्तिको आगमन

माक्र्सवादको मूल कुरा इतिहासको भौतिकवादी धारणा हो । यो धारणाअनुसार मानव समाजको आधार भौतिक तत्व हो, मानसिक तत्व होइन । यो भौतिक तत्वको अर्थ उत्पादक शक्ति हो । यो धारणाले माक्र्सवादलाई अन्य सम्पूर्ण दर्शनहरुबाट अलग गर्दछ । त्यसैगरी माक्र्सवादको उत्कृष्टता र वैज्ञानिकता पनि यसमै अन्तर्निहित छ ।

हरेक सामाजिक व्यवस्थाको आफ्नै उत्पादक शक्ति हुन्छ । अलग–अलग उत्पादक शक्तिबाट अलग–अलग सामाजिक व्यवस्थाको निर्माण हुन्छ । त्यसकारण उत्पादक शक्ति बदलिएपछि सामाजिक व्यवस्था पनि बदलिन्छ । नयाँ उत्पादक शक्तिले नयाँ सामाजिक व्यवस्थाको निर्माण गर्दछ ।

उत्पादक शक्तिको विकासअनुसार मानव समाजमा विभिन्न परिवर्तनहरु भएका छन् । प्राचीन कालदेखि वर्तमान कालसम्म चारवटा सामाजिक व्यवस्थाहरु आइसकेका छन् । आदिम साम्यवादमा प्रकृति उत्पादक शक्ति थियो । दास व्यवस्थामा मानव–श्रम उत्पादक शक्ति थियो । सामन्तवादमा जमिन उत्पादक शक्ति थियो र पूँजीवादमा पूँजी उत्पादक शक्ति छ । अब नयाँ उत्पादक शक्तिको रुपमा विज्ञान–प्रविधि आएको छ र यसले नयाँ सामाजिक व्यवस्थाको निर्माण गर्नलागेको छ, जुन समाजवाद हो ।

नयाँ उत्पादक शक्तिको रुपमा आएको विज्ञान¬–प्रविधि र वर्तमान सामाजिक व्यवस्थाको रुपमा रहेको पूँजीवादको बीचमा अन्तर्विरोध शुरु भएको छ । विज्ञान–प्रविधि पूँजीवादसँग मेल खाँदैन । यसले मानव–श्रमलाई विस्थापन गरेर अधिकांश मानिसहरुलाई दरिद्र बनाएको छ र थोरै मानिसहरुको हातमा धेरै सम्पत्ति केन्द्रित गरेको छ । अहिले विश्वमा १० प्रतिशत मानिसहरुसँग ९० प्रतिशत मानिसहरुको भन्दा बढी सम्पत्ति छ । फलस्वरुप समाजमा समस्या सृजना भएको छ ।

तर यो समस्याको कारण स्वयं विज्ञान–प्रविधिको विकास होइन, बरु यसको कारण त निजी स्वामित्वमा आधारित पूँजीवाद हो । त्यसकारण यसको समाधान असीमित क्षमता भएको विज्ञान–प्रविधिलाई निजी स्वामित्वबाट मुक्त गरेर सम्पूर्ण समाजको स्वामित्वमा ल्याउनु हो । यसको लागि समाजवादी क्रान्तिको आवश्यकता पर्दछ ।

विज्ञान–प्रविधिको लागि उपयुक्त सामाजिक व्यवस्था समाजवाद हो । किनभने समाजवादमा निजी स्वाभित्व हुँदैन र उत्पादन नाफाको लागि नभएर उपभोगको लागि हुन्छ । त्यसकारण विज्ञान–प्रविधिको असीमित क्षमताबाट समाजका सबै मानिसहरु लाभान्वित हुन्छन् ।

२. संघर्ष वा क्रान्तिको नयाँ विधिको आवश्यकता

उत्पादक शक्तिमा आएको परिवर्तनको परिणामस्वरुप अब संघर्ष वा क्रान्तिको विधि पनि परिवर्तन गर्नु आवश्यक भएको छ ।
अहिलेसम्म समाजवादको निर्माण कार्य क्रान्ति सम्पन्न भएपछि मात्र गर्ने नीति अवलम्बन गरिएको थियो । तर यसलाई अब बदल्नु आवश्यक भएको छ । समाजवादको निर्माण कार्य क्रान्तिपूर्व नै गर्नु अनिवार्य भएको छ, जसबाट क्रान्तिको लागि सहज अजस्था सृजना होस् । किनभने पुरानो व्यवस्थाको समानान्तरमा नयाँ व्यवस्थाको निर्माण भएपछि पुरानो व्यवस्था कमजोर हुँदै जान्छ र नयाँ व्यवस्था समृद्ध तथा बलियो बन्दै जान्छ । फलस्वरुप एउटा सामाजिक क्रान्तिको माध्यमबाट पुरानो व्यवस्थाको अन्त्य र नयाँ व्यवस्थाको स्थापना हुन्छ ।

उत्पादक शक्तिको रुपमा विज्ञान–प्रविधिको विकास भएपछि श्रमिकहरु उत्पादन क्षेत्रबाट विस्थापति भएका छन् । त्यसकारण अब पूँजीवादी व्यवस्थाभित्र रहेर त्यसको विरुद्ध संघर्ष गर्न संभव छैन । त्यसभन्दा बाहिर समानान्तरमा समाजवादको निर्माण गरेर मात्र त्यसलाई ढाल्न सकिन्छ ।

वर्तमान सामाजिक व्यवस्था पूँजीवादको विरुद्धमा नयाँ उत्पादक शक्ति विज्ञान–प्रविधिमा आधारित सामाजिक व्यवस्था समाजवादको निर्माण गर्नु वर्तमान युगको अनिवार्य ऐतिहासिक आवश्यकता हो । जब पूँजीवादको विरुद्ध समानान्तार रुपमा समाजवाद अस्तित्वमा आउँछ, तब तिनीहरुको बीचमा संघर्ष हुन्छ । यो संघर्षको कारण पूँजीवाद क्रमशः कमजोर तथा खण्डित हुँदै जान्छ र समाजवाद क्रमशः सवल तथा संगठित हुँदै जान्छ । परिणामस्वरुप अन्तमा एउटा महान सामाजिक क्रान्ति (समाजवादी क्रान्ति) को माध्यमबाट पूँजीवादको पराजय र समाजवादको विजय हुनेछ ।

नयाँ सामाजिक व्यवस्थाको निर्माण नयाँ उत्पादक शक्तिहरुलाई नयाँ उत्पादन सम्बन्धमा संगठित गरेर आरम्भ हुन्छ । यस क्रममा पुरानो सामाजिक व्यवस्थाअन्तर्गत रहेका सम्पूर्ण नयाँ उत्पादक शक्तिहरुलाई क्रमशः अधिग्रहण गरेर नयाँ सामाजिक व्यवस्थाअन्तर्गत ल्याइन्छ । त्यसकारण नयाँ समाजिक व्यवस्था समाजवादको निर्माण नयाँ उत्पादक शक्ति विज्ञान–प्रविधिलाई समाजवादी उत्पादन सम्बन्धमा संगठित गरेर आरम्भ गर्नुपर्दछ । यो कार्यभार सर्वहारा वर्गको हो र सर्वहारा वर्गलाई यस कार्यमा मार्गदर्शन गर्नु सम्पूर्ण कम्युनिष्टहरुको कार्यभार हो ।

३. समाजवादको निकटता

उत्पादक शक्तिको रुपमा विज्ञान¬–प्रविधिको विकास वर्तमान युगको प्रमुख घटना हो । यसले समाजवादको आधारलाई बदलिदिएको छ र नयाँ आधारमा समाजवादलाई अझ निकट तथा संभव बनाइदिएको छ । समाजावदको पुरानो आधार मावनश्रम थियो । यसको नयाँ आधार विज्ञान–प्रविधि हो, जुन मानवश्रमको तुलनामा धेरै उच्च र शक्तिशाली छ । फलस्वरुप अब समाजवाद अतिनिकट भएको छ ।

समाजवादको पहिलो शर्त निजी स्वामित्वको अन्त्य हो । विज्ञान–प्रविधिले उत्पादन क्षेत्रबाट मानवश्रमलाई विस्थापित गरेर यो शर्तलाई पूरा गरेको छ । निजी स्वामित्वको आधार मानवश्रम हो, त्यसकारण मानवश्रम विस्थापित भएपछि निजी स्वामित्वको अन्त्य हुन्छ ।
समाजवादको दोस्रो शर्त मानवीय आवश्यकता पूरा गर्ने साधानहरुको प्रचुरता हो । विज्ञान–प्रविधिको असीमित तथा विशाल क्षमताबाट यो शर्त पूरा भएको छ । आज विज्ञान–प्रविधिबाट जति साधन उपलब्ध भएका छन्, त्यति विगतमा मानवश्रमबाट असंभव थियो । फलस्वरुप विगतमा समाजवाद साकार हुनसकेन ।

त्यसैगरी समाजवादको तेस्रो शर्त समानता हो । मानव समाजमा श्रम–विभाजनको परिणामस्वरुप वर्गहरुको उदय भएको थियो । वर्गहरुको उदय भएपछि मानिसहरुको बीचमा असमानताको शुरुवात भएको थियो । विज्ञान–प्रविधिले अब सबै कार्यहरुलाई सरल र समान बनाइदिएको छ । विशिष्टतालाई सार्विक बनाइदिएको छ र मानवको भूमिकालाई घटाइदिएको छ । परिणामस्वरुप अब समाजमा भूमिकाको आधारमा मानिसहरुको बीचमा भेद रहेको छैन । लिङ्ग, जाति, वर्ण, क्षमता, परम्परा आदि निर्णायक रहेका छैनन् । सबै मानिसहरुको बीचमा समानताको अवस्था सृजना भएको छ ।

(लेखक वैज्ञानिक समाजवाद कसरी आउँछ भन्ने विषयमा नयाँ विचारधारा अगाडि सार्ने एक समाजवादी राजनीतिज्ञ हुन्)

प्रतिक्रिया दिनुहोस्
X
Type to search