मेलम्ची घाटा र नाफाको सौदाबाजी होइन, काकाकुल काठमाडौंको चिन्ता हो-मन्त्री विना मगर

मेलम्ची आयाेजना निर्माण कम्पनीसँग समयमा काम सम्पन्न गर्ने विश्वासिलो आधार खोजिरहेकी छु । आयोजनमा नाफा भए काम गर्ने, घाटा भए छोडेर हिड्न मिल्छ ?
लामो समयको पखाईपछि निर्माणको अन्तिम चरणमा पुगेको बहुचर्चित मेलम्ची खानेपानी आयोजना एकाएक ठेकेदार कम्पनीले एकतर्फी ठेक्का रद्दको घोषणा गर्यो । ठेक्का रद्दको घोषणाले आयोजनाको भविश्य नै अन्यौलमा परेको जनचिन्ता थपियो । तर खानेपानीमन्त्री विना मगरको सक्रियता र कडा कदमका कारण ठेकेदार कम्पनीले पुनः काममा फर्किने बाचा गरेको छ । तर पनि आयोजनाको भविश्य बारे जनचिन्ता हटेको छैन । के मेलम्चीको पानी समयमै काठमाडौंमा आउँछ ? ठेकेदार कम्पनीलाई विश्वास गर्न सकिन्छ ? यस्तै प्रश्न हामीले मन्त्री मगरसँग गर्यौं ।

मेलम्ची निकै चर्चामा छ । के भइरहेको छ अहिले ?

अन्तिममा आइसकेको ठेक्का छाडेर हिड्न मिल्दैन । त्यो घाटामा परेको होस या नाफामा । काम पुरा गर्ने पर्छ । नाफामा परे काम गर्ने, घाटामा परे काम छाड्न मिल्दैन् । यस्तो रवैयालाई मन्त्रालयले चनाखो र संयमित काम गरिरहेका छ । उनीहरुले ठेक्का तोड्ने प्रस्ताव ल्याए तर, हामीले स्वीकार गरेनौं । उनीहरुले नै काम सम्पन्न गर्नुपर्दछ, त्यो पनि समयमै ।

हामीले केही कदम चालेपछि र संवाद थालेपछि ठेक्का तोडेको विषय फिर्ता लियौं अब काममा फर्किन्छौ भनिरहेका छन् । तर हामीलाई मापदण्ड अनुसार समयमै काम सक्ने विश्वसनिय आधार चाहिएको छ । त्यो हामीले कम्पनीसँग खोजिरहेका छौ । साँच्चै तिमीहरुले काम गर्न सक्छौं कि सक्दैनाैं ? समयमै पुरा गर्छाै की गर्दैनौं ? भनेर हामीले विश्वसनिय आधार खोजिरहेका छौं । हामीले बैंकमा पैसा फिर्ताका लागि क्लेम पनि गरिरहेका छौं । तिमीहरुले ठेक्का ताड्ने हो भने हामी बैंक सेक्युरिटी लिन्छौं भनेका छौं । त्यो कानुनी प्रक्रिया पनि भइसकेको छ । यो विषयमा मन्त्रालय सिरियस भएर लागेको छ । अहिले क्रिसमस भएकाले उनीहरुसँग सम्पर्क हुन सकेको छैन् ।

समयमै काम हुन्छ भन्नेमा विस्वस्त हुनुहुन्छ ?

ठेक्का छाडेर भाग्ने कम्पनीसँग औपचारिक अनौपचारिक छलफल भइरहेका छन् । तर विस्वासनीयता हामीले खोजिरहेका छौं । मेलम्चीमा हिजैदेखि क्यासफ्लो कै समस्या हो । सबैभन्दा टाउको दुखाइको विषय पनि यही हो । आज पनि समस्या टरेको छैन् । हामी समाधानको खोजी गरिहेका छौं ।

मन्त्रालयबाटै कमिसनको चलखेल भयो भन्नेहरु पनि छन् नी ?

कस्तो भने नि एउटा बुढाबुढीले घोडा घिसार्दै हिडिरहेको मान्छेहरुले देखेछन् र भनेछन् हेर कस्तो मान्छे घोडामा चढ्नु नि, किन घिरारेको होला ? त्यसपछि बुढा घेडामा चढेर बुढीले घिसार्न थालिछिन् । देख्नेहरुको हुटहुटी अझै सकिएन, र भने कस्तो लाचार मान्छे रहेछ, बुढीलाई घोडा घिसार्न लगाएर आफु घोडामा बसिरहेको छ ? त्यसपछि आफुले घोडा घिसारेर बुढीलाई घोडामा बसालेछ । फेरि पनि देख्नेहरुको प्रश्न रोकिएन, फेरी भने, बुढीलाई घोडा चढाएर आफु हिडिरहेको छ । त्यसपछि दुवै घोडामा बसेछन् । त्यसपछि देख्नेहरुले भनेछन् कस्तो वेकुव रहेछ दुई जना एउटै घोडामाथि चढेर हिड्ने ? अलिकति मानवता पनि रैनछ ।

 

यो हाम्रो वर्तमान समाजको चरित्र हो । हामीले जे गरेपनि एउटा न एउटा खोट निकाल्नै पर्ने । सकारात्मक सोचले हौसला प्रदान गर्दछ । नकारात्मक सोचले मानसिकता कमजोर बनाउँछ । कमिशन जस्तो घनलाग्दो कुरा उठाएर हाम्रो मनोवल खसाउने कोशिस गरिएको हो । तर साना कुराले हाम्रो मनोवल खस्किने छैन ।

अहिले छिटोभन्दा छिटो पानी कसरी ल्याउन सकिन्छ ? काकाकुल काठमाडौको समस्या समयमै कसरी हल गर्न सकिन्छ ? यही बिषयमा हामी मरिमेटी लागिरहेका छौ । काकाकुल काठमाडौंमा समयमै पानी ल्याउनु जननिर्वाचित सरकारको जनदायित्व हो भन्ने कुरा मैले राम्रोसँग बुझेकी छु । मन्त्रालयको मात्र नभई सरकारको प्राथमिकता पनि यही हो ।
असारमा आँखा फुटेको गोरुले सधैं हरियो देख्छ भने जस्तो भइरहकोे छ । यस्तो हुनुहुदैन्थो तर भइरहेको छ । यो राष्ट्रिय गौरवको आयोजना हो । हाम्रो भावनासँग जोडिएको छ । म आफै पनि आयोजना सम्पन्न गरेर भावनात्मक सन्तुष्टि लिन चाहन्छु । आयोजना समयमै सम्पन्न गर्न र गराउन मन्त्रालय केन्द्रीकृत भएर लागेको छ ।

सरकारसँग जनताको धेरै अपेक्षा छ । तर सरकारले जन अपेक्षा अनुरुप डेलिभरी दिन सकिरहेको छैन । कहाँ चुकिरहेको छ ?

स्वाभाविक रुपमा अहिलेको सरकारले भनेजस्तो काम गर्न सकेको छैन । तर हिजोको सिस्टम, परिपाटी, पुरानै सोच्ने तरिका र परम्परालाई व्यवस्थित गरेर जनतालाई डेलिभरी दिने कुरा आफैमा चुनौतिपूर्ण छ । सरकार जनतालई सेवा दिने कुरामा कति प्रतिवद्ध छ भन्ने कुराको मापन पनि हुनुपर्छ । म सबैलाई धैर्य गर्न र सरकारलाई काम गर्ने समय र अवसर दिन म आग्रह गर्दछु । सरकार जनताप्रति प्रतिवद्ध छ ।

जटिलताको बीचमा तपाईको मन्त्रालयले कसरी काम गरिरहेको छ ?

अहिले हामीले दुई योजना बनाएका छौं । तराईमा एउटा, पहाड र हिमाली अर्को । तराईको मेची महाकाली क्षेत्रमा खानेपानीको समस्या हल गर्न बल्क वाटरको सम्भाब्यता अध्ययन गरिरहेका छौ । त्यसको लागि महाकाली, कर्णाली र अत्तरिया बर्बइ र नारायणी नदीको पानी उपयोग गर्ने योजना बनाइरहेका छौं । तराई भएर बग्ने नदीहरुलाई बल्क वाटरको रुपमा प्रयोग गर्ने सम्भावना अध्ययन भइरहेको छ । अब त्यसलाई आर्थिक रुपमा कसरी अघि बढाउने ? यो निकै जटिल विषय हो । अहिले आफ्नै स्रोतको खोजि र दातृ निकायसँग छलफललाई एकै साथ अगाडी बढाएका छौं ।

पहाड र हिमाली खानेपानीको समस्या हल गर्न तीन उपाए खोजि गरेका छौ । ग्राभिटि, लिफ्ट सिस्टम र वर्षाको पानी संकलन । हामी यी तीन विधिबाट पहाड र हिमाली क्षेत्रमा देखिएको खानेपानी समस्या हल गर्न लागि रहेका छौं ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search