बागमती हाम्रो सभ्यता र ठूलाे पूँजी हाे, यहाँ अब कञ्चन पानी बग्ने छ : मन्त्री मगर (भिडियाेसहित)

                                                  विना मगर, खानेपाली तथा सरसफाइ मन्त्री

उपत्यका खानेपानी लिमिटेडले ललितपुरको बालकुमारीमा निर्माण गर्न लागेको पानी प्रशोधन केन्द्र शिलान्यास कार्यक्रममा विशेष अतिथिकाे रुपमा पुगेका खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले राखेकाे मन्तव्यकाे सम्पादित अ‌ंश यहाँ प्रस्तुत गरिएकाे छ ।

बागमती सफाइको अभियान आम उपत्यकाबासी र सिङ्गै नेपाली जनसमुदायका लागि सरोकार र राष्ट्रिय प्रतिष्ठाको विषय हो । विश्वकै सुन्दर देशहरुको सूचीमध्ये अग्रस्थानमा रहेको नेपाल र त्यसको मुटुमा रहेको काठमाडौंको बागमती हाम्रो सभ्यता र पहिचानका दृष्टिले मात्र होइन, जीवनपद्दति र सम्भावनाका दृष्टिले पनि अग्रणी स्रोत र पूँजी हो ।

                                                                            तस्वीर/ विनाेद थापा

बागमती सफाइको बहुआयमिक महत्व छ । नेपालको प्रतिष्ठा, प्राकृतिक सुन्दरता, मानवीय सभ्यता, मानव स्वास्थ्य र जलस्रोतको उपयोगका दृष्टिले पनि बागमतीको सफाइ हाम्रो प्राथमिकतामा पर्नुपथ्र्यो र परेको छ । यसका लागि म बागमती सफाइ अभियानका अभियान्ता, नेपाल सरकारका विभिन्न तहमा रहेर क्रियाशील कर्मचारी साथीहरु, सामाजिक संघसंस्था र व्यक्तित्वहरुमा हृदयदेखि आभार व्यक्त गर्दछु ।

स्वास्थ्य र सुन्दरता दुवै दृष्टिले प्राकृतिक स्रोतको संरक्षण मानवीय प्राथमिकताको विषय हो । स्वस्थ जीवनको सबैभन्दा ठूलो आधार सफा पानी नै हो । पानीका मुहान र स्रोतहरुलाई सफा राखेर मात्र हामीले मानव जीवनलाई स्वस्थ र सुन्दर बनाउन सक्दछौं ।

यही संकल्पका साथ हामीले बागमतीलाई प्राकृतिक स्वरुपमै फर्काउने अभियानको थालनी गर्‍याैं । यस अभियानमा सामाजिक अभियान्ताहरुले खेल्नुभएको नेतृत्वदायी भूमिकाको म स्मरण गर्न चाहन्छु । यहाँहरु सबैको सकारात्मक चासो र हातेमालोकै कारण आज हामी बागमतीको पानी प्रशोधन गर्ने यस ऐतिहासिक दिनसम्म आइपुगेका छौं ।

मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयले काठमाडौं उपत्यकामा स्वस्थ पानीको आपूर्तिको जिम्मेवारी मात्र बहन गरेको छैन, बागमती लगायतका हाम्रा प्राकृतिक सम्पदामा हुने प्रदुषणको रोकथाम र प्रशोधनका लागि पनि उत्तिकै मेहेनतका साथ काम गरिरहेको छ । आज हामीले काठमाडौंका ३ स्थानको प्रशोधन केन्द्रको एकीकृत रुपमा उद्घाटन गर्दैछौं । त्यसको एकीकृत कार्यक्रमका रुपमा हामी आजको समारोहमा छौं ।

बागमतीमा सफा पानी बग्न र वातावरणलाई स्वस्थ बनाउने हाम्रो अभियान अनवरत रुपमा अघि बढ्नेछ । पहिलो चरणमा गरिएको यस प्रशोधनले कोड्कु क्षेत्रका ३ लाख ८० हजार, सल्लाघारी क्षेत्रका ४ लाख ५४ हजार, धोबिघाट क्षेत्रका २२ लाख ८ हजार गरी कुल ३० लाख ४४ हजार जनसंख्या लाभान्वित हुने हाम्रो अपेक्षा छ ।

कोड्कुको प्रशोधन केन्द्र ७ मे, २०१७, धोबिघाटको प्रशोधन केन्द्र ७ मे, २०१७ र सल्लाघारीको प्रशोधन केन्द्रको निर्माण कार्य १ अगस्ट २०१६ मा सम्झौता गरिएको व्यहोरासमेत  जानकारी गराउन चाहन्छु । उल्लेखित प्रगतिले इच्छाशक्ति र इमान्दारीता भए ‘सुखी नेपाली, समृद्ध नेपाल’को लक्ष्य प्राप्त गर्न कठिन छैन भन्ने बलियो सन्देश दिएको छ ।

उल्लेखित ३ वटै प्रशोधन केन्द्रको कुल निर्माण लागत करीब ४ अर्ब रहेको छ । प्रशोधन केन्द्रबाट प्रतिदिन ६ करोड ८० लाख लिटर पानी प्रशोधन हुनेछ । प्रशोधन केन्द्रबाट प्रतिघण्टा ३०५ किलोवाट विद्युत उत्पादन हुनेछ । साथै प्रशोधनबाट दैनिक १७.८ टन मल उत्पादन र केही मात्रामा बायोग्यास समेत उत्पादन हुनेछ । प्रशोधनपछि बागमतीमा कञ्चन पानी बग्नेछ, उक्त पानी करेसाबारी, सिँचाइ, सडक सरसफाइ, लुगा धुने लगायतका काममा प्रयोगमा आउनेछ । यसले प्रदुषण मात्र घट्ने छैन, पानीको बहुउपयोगिताको विश्वासिलो आधारसमेत तयार हुनेछ ।

पहिलो चरणमा तीनवटा केन्द्रलाई लक्षित गरिए पनि पानी प्रशोधनको हाम्रो अभियानले सिङ्गो बागमतीको मुहार फेर्नेछ, त्यसका लागि मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय र मन्त्रालयले दूरदृष्टिका साथ काम गरिरहेको व्यहोरासमेत म यहाँ स्मरण गर्न चाहन्छु ।

मेलम्ची खानेपानी आयोजनामार्फत शुद्ध पानीको आपूर्तिमा बृद्धि हुनेछ, फोहोर पानीको प्रशोधन हुनेछ । यसका लागि नदी किनारमा ढलका पाइपहरु बिच्छ्यानुका साथै सबै ठाउँमा प्रशोधन केन्द्र निर्माण हुनेछन् । यी संरचना निर्माण भएपछि बागमती लगायत उपत्यकाका नदीहरुमा सफा पानी बग्नेछ । अहिलेजस्तो खोलानाला दुर्ग्न्धित हुने छैनन्, मानव स्वास्थ्य, पर्यावरण र राष्ट्रिय प्रतिष्ठासमेत उच्च हुनेछ । यही विश्वास र दृढताका साथ मन्त्रालय र मातहतका कार्यालयहरुले कार्यसम्पादन गरिरहेका छन् ।

नेपालको राष्ट्रिय गौरवका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य यथासक्य सम्पन्न गर्न मन्त्रालय गम्भिर छ । यस बीचमा मेलम्ची खानेपानी आयोजनाको अवस्था र प्रगतिबारे आम नेपाली जनसमुदायले लिनुभएको सकारात्मक चासो र चिन्ताप्रति हामी जानकार र सचेत पनि छौं ।

यस अवसरमा म मेलम्चीको पानी काठमाडौंका उपभोक्तालाई उपलब्ध गराउन मन्त्रालय सम्पूर्ण रुपले क्रियाशील रहेको व्यहोरा स्पष्ट गर्न चाहन्छु । कुनै पनि बहाना र गतिरोधले आफ्नो संकल्पलाई रोक्न सक्दैन, सम्भव सम्पूर्ण उपायहरुको खोजी गरी राष्ट्रिय कार्यभार पूरा गर्न मन्त्रालय संकल्पवद्ध रहेको स्मरण गराउँदै पछिल्लो समय परिस्थितिले सकारात्मक दिशा लिएको कुरा पनि म यहाँहरुलाई अवगत गराउन चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search