मानव तस्करकी आरोपी राजदूत शेर्पामाथि सिआइबीको छानविन, ड्राइभर पत्नीबाट पोल खुल्यो

काठमाडौं । श्रीमानसँग मिलेर मानव तस्करी गरेको आरोप लागेकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो अनुसन्धानको अन्तिम प्रतिवेदन तयारी गर्न लागेको छ । विगत ७ महिनादेखि राजदूत शेर्पामाथि अनुसन्धान भइरहेको थियो । अस्ट्रेलियामा मानव तस्करी गरिरहेकी एक महिलालाई सिआइबीले पक्राउ गरेपछि राजदूत शेर्पा अनुसन्धानमा तानिएकी हुन् । पक्राउ परेकी महिलाले राजदूत शेर्पासँगै मिलेर आफूले पैसा उठाएको बयान दिएकी थिइन । ती महिलाको बयानकै आधारमा राजदूत शेर्पामाथी छानविन थालिएको थियो ।

सिआइबीले पक्राउ गरेकी सोलुखुम्बु गोरखानी गाउँपालिका–२ घर भएकी ३० वर्षीया फुल्हम शेर्पाले राजदूत शेर्पासँगै मिलेर आफूले अस्ट्रेलियामा मानव तस्करी गरिरहेको बयान दिएकी थिइन । राजदूतसँगै मिलेर व्यक्तिहरूसँग पैसा उठाएको बयान दिने फुल्हम राजदूत शेर्पाका पूर्वचालक ओङछु शेर्पाकी श्रीमती हुन् । फुल्हमविरुद्ध ठगी आरोपमा सिआइबीले पक्राउ गरी अनुसन्धान गरेपछि श्रीमान् ओङछु र राजदूत लक्कीको समेत मिलेमतो रहेको बताएकी थिइन् ।

सिआइबीले फुल्हम र ओङछुविरुद्ध २० लाख ६० हजार रुपैयाँ ठगीको आरोपमा जेठको अन्तिम साता मुद्दा दायर गरिसकेको छ । सिआइबीका अनुसार फुल्हम शेर्पाविरुद्ध तासी ल्यामु शेर्पा, निमदावा शेर्पा र निम्बुटी शेर्पाले जाहेरी दिएका थिए । तासीसँग चार लाख, निमदावासँग आठ लाख र निम्बुटीसँग १२ लाख रुपैयाँ उठाएको खुलेको छ । उनीहरू सबैलाई राजदूतको सहयोगीका रूपमा लैजाने भनेर पैसा उठाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search