७८ करोड कर तिर्न पत्र आएपछि लीला प्रसाद बेहोस भएर ढले

काठमाडौं । दुई महिनाअघि राष्ट्रिय वाणिज्य बैंकका अवकाशप्राप्त कर्मचारी लीलाप्रसाद श्रेष्ठको पुर्खेउली घर पाँचथरमा एउटा पत्र गयो । आन्तरिक राजस्व कार्यालय बबरमहलबाट पठाइएको पत्र उनका दाईले बुझे । तर खोलेर हेरेनन् । पत्र काठमाडौं ल्याएर भाइलाई दिए । नयाँपत्रिकामा नवराज मैनाली लेख्छन् पत्र खोलेर लीलाप्रसादले पढेका मात्र के थिए, बेहोस भएर ढले । आफन्तले उनलाई हतार–हतार अस्पताल पुर्याए । पत्र सामान्य थिएन लेखिएको थियो, ‘तपाईंको नाममा रहेको सुन्द्रादेवी टेलिटक प्रालि (स्थायी लेखा नम्बर ६०२४१८४२१ )ले कर दाखिला नगरेको हुँदा यस कार्यालयमा उपस्थित हुनुहोला ।’ कम्पनीको नाममा ७८ करोड रुपैयाँ कर दायित्व थियो । कहिल्यै व्यापार नगरेका लीलाप्रसादलाई ७८ करोड तिर्नुपर्ने पत्र आएपछि बेहोस भएका थिए ।

सुरुमा पत्र नक्कली हो की भन्ने लाग्यो तर पत्र सक्कली थियो । कर कार्यालयमा गएर बुझ्दा पत्र सक्कली नै भन्ने खुल्यो । थप विवरण हेर्दा अरूले नै उनको नागरिकताका आधारमा कम्पनी दर्ता गरेर कारोबार गरेको खुल्यो । आर्थिक वर्ष ०७१, ७२ को ९ महिनाको अवधिमा सो कम्पनीले २ अर्ब ४२ करोडको कारोबार गरेको थियो । तर कर तिरेका थिएन ।
नेपाल स्याटेलाइट नेपाल प्रालिसँग सहकार्य गरी एनसेलको सिम तथा रिचार्ज कार्ड बिक्रीको जिम्मा लिएको सो कम्पनीले नौ महिनामा २ अर्ब ४२ करोडको कारोबार गर्दा एक रुपैयाँ पनि कर तिरेको थिएन । लीलाप्रसाद श्रेष्ठ स्याटेलाइट कम्पनी गएर बुझ्दा विजयनारायण श्रेष्ठ नामका व्यक्तिले कारोबार गरेको खुल्यो ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search