ला लिगा लिडर बार्सिलोना कोपा डेल रे मा लेभान्टेसंग स्तब्ध

काठमाण्डौ । स्पेनिस कोपा डेल रे मा बार्सिलोना पराजित भएको छ । गएराति भएको खेलमा ला लिगा लिग लिडर बार्सिलोना लेभान्टे संग २–१ गोल अन्तरले स्तब्ध भएको हो ।

लेभान्टेको घरेलु मैदानमा भएको अन्तिम १६ को पहिलो खेलमा बार्साले अप्रत्यासित नतिजा बेहोरेको हो । तीन हप्ता पहिले ला लिगामा बार्सिलोनासंग ५–० गोलले पराजित भएको लेभान्टेले कोपा डेल रेमा बदला लिएको छ । लेभान्टेलाई जित दिलाउन खेलको पहिलो हाफमा इरिक काबाको र बोर्जा मायोरालले एक एक गोलको योगदान गरेका थिए भने बार्साका फिलिप कौटिन्होले पेनाल्टीमार्फत १ गोल गरेका थिए । खेलको चौंथो मिनेट मै काबाकोले पाहुना टोली विरुद्ध गोल गर्दै घरेलु मैदानमा अग्रता लिएको थियो ।

१८ औं मिनेटमा बोर्जाले गोल गर्दै लेभान्टेको अग्रता दोब्बर गरेका थिए । खेलको पहिलो हाफमा २–० गोल अन्तरले पछि परेको बार्सिलोनाले दोस्रो हाफको ८५ औं मिनेटमा कौटिन्होले गोल गरेका थिए । अन्तिम १६ को दोस्रो खेल बार्सिलोनाको घरेलु मैदान क्याप नाउमा आउँदो १७ जनावरी बिहीबार हुने छ । गए राति नै भएको अन्य खेलहरुमा सेभिल्लाले एथ्लेटिको बिल्वाओलाई ३–१ ले पराजित गर्दा रियल बेटिस र रियल सोसिडाबीचको खेल बराबरीमा सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search