श्रीमति कुटेलगतै निर्मला पन्तका बाबु यज्ञराजको फेरी मानसिक अबस्था असमान्य

काठमाडौं । पत्नी कुटेको आरोप लागेलगतै निर्मला पन्तका बुवा यज्ञराजको मानसिक अवस्था असमान्य बनेको कान्छी पत्नीले बताएकी छिन् । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तकी आमा दुर्गादेवीलाई बुवा यज्ञराजले हातपात गरेका थिए । पत्नीलाई हातपात गरेको समाचार बाहिर आएपछि उनको मानसिक अवस्था असमान्य बनेको कान्छी पत्नी लक्ष्मी पन्तले बताएकी छिन् । छोरी निर्मलाको बलात्कारपछि हत्या भएको ६ महिना वितिसक्दा पनि अपराधी पत्ता लाग्न सकेका छैनन् । छोरीलाई न्याय माग्दा माग्दै उनको मानसिक सन्तुलन असमान्य बनेको परिवारका सदस्यले बताएका छन् ।

केही समय पहिले धर्ना बसिरहेका बेला उनको मानसिक स्वाथ्यमा समस्या आएको थियो । लगतै उनलाई उपचारका लागि काठमाडौं ल्याइएको थियो । काठमाडौँमा लामो उपचारपछि घर फर्केका यज्ञराजको मानसिक अवस्था फेरि बिग्रेको कान्छी पत्नी लक्ष्मीले बताइन । ‘मध्यरातमा उठेर रुने, नजिक रहेका व्यक्तिलाई हप्काउने, गाली गर्ने जस्ता असामान्य व्यवहार देखाउन थाल्नुभएको छ’ लक्ष्मीले भनिन् । निर्मलाको शवबाट निकालिएको भजाइनल स्वाबको बैधानिकता जाँच गर्न दुर्गादेवीले बुधबार डीएनए टेष्टका लागि रगतको नमूना दिएकी थिइन । रगतको नमुना दिएलगतै उनले आफ्नी अरु दुई छोरीका लागि भएपनि सरकारी राहत लिने बताएकी थिइन ।

तर बाबु यज्ञराजले भने राहत लिने कुरामा असहमति मात्र जनाएनन् पत्नी दुर्गालाई कुटपिट समेत गरेका थिए । पत्नीलाई कुटेलगतै उनको मानसिक अबस्था फेरी बिग्रेको छ । पत्नीले राहत लिने भनेपछि उनी थप तनावमा आएका थिए । न्याय नपाउँदासम्म सरकारी राहत लिए घरको दैलोमा झुण्डिएर आत्महत्या गर्ने चेतावनी पत्नीलाई दिएका थिए । निर्मलाको परिवारलाई केन्द्र सरकारले १० लाख, प्रदेश सरकारले पाँच लाख र भीमदत्त नगरपालिकाले तीन लाख राहत रकम सहयोग गर्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search