‘माक्स र माओको दिवसलाई आदर्श ठान्ने, पृथ्वी जयन्तीलाई छिछि गर्न पाइदैन–भीमार्जुन

काठमाडौं । संबैधानिक कानुनका ज्ञाता डा. भीमार्जुन आचार्यले विदेशमा जन्मिएका माक्स र माओको दिवसलाई आदर्श मान्दै गर्दा नेपाल राष्ट्रको एकीकरण गर्ने पृथ्वीनारायण शाहलाई नविर्सिन सत्ता सञ्चालकलाई आग्रह गरेका छन् । पृथ्वी जयन्ती मनाउने या नमनाउने बिषयमा जनमत र दलहरु बिभाजित भइरहेका बेला कानुनविद् आचार्यले आफ्नै राष्ट्र निर्माणको दिवस मनाउन छिछि गर्न नहुँने बताएका छन् ।
पृथ्वी जयतन्ती मनाउन र सार्वजनिक विदा दिन सरकारलाई सजग जमातले दवाव र सुझाव दिँदै आएको छ । तर गणतन्त्रको स्थापना भएयता पृथ्वीनारायण शाहको जन्मदिनमा मनाइदै आएको पृथ्वी जयन्ती सरकारले मनाउन छोडेको छ । गणतन्त्रका नाममा राष्ट्र निर्मातालाई अपमान गरेको भन्दै आक्रोसहरु पनि बर्षेनी पोखिदै आएका छन् । ‘उनले निर्माण गरेको राष्ट्रमा रजाई गर्ने लोभीपापीहरुले नसम्झेपनि एउटा सच्चा नेपालीले पृथ्वीनारायण शाहलाई कहिल्यै विर्सन सक्दैनन’ आचार्यले भनेका छन् ‘नेपाल र नेपालीको पहिचान उनकै देन हो । कहिले, कहाँ जन्मेका माक्स र माओ वा यस्तै दिवसलाई आदर्श मान्ने तर आफ्नै राष्ट्रको दिवसलाई छिछि गर्ने आदत राम्रो होइन ।’
पृथ्वी जयन्तीमा दिवस नमनाएपनि प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति बिद्यादेवी भण्डारीले दिवसको शुभकामना दिएका छन् । पृथ्वीनारायण शाहको गुनगान गाउँदै राष्ट्रपति र प्रधानमन्त्रीले शुभकामना दिएपनि दिवस भने नमनाउने भएका छन् । वर्तमान दुई तिहाईको कम्यूनिष्ट सरकारले पनि गणतन्त्रपछिकै अबस्थालाई निरन्तरता दिए । तर कतिपय स्थानमा भने स्थानीय तहले सार्वजनिक विदा दिएका छन् । राप्रपाबाट चुनाव जितेका नेपालगञ्ज उपमहानगरपालिका र धादिङको रुवी भ्याली गाउँपालिकामा सार्वजनिक विदाको घोषणा गरिएको छ । तर अन्य पार्टीले जितेका स्थानीय, प्रदेश र केन्दमा भने सार्वजनिक विदा दिइएको छैन ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search