नेविसंघ भित्र भाडभैलो, ८ जनाले दिए राजीनामा

काठमाडौं । अध्यक्ष नैनसिंह महरप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ(नेविसंघ)का ८ जना पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् ।

उनिहरुले शुक्रबार पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर सामूहिक राजिनामा बुझाएका हुन् । राजीनामा बुझाउनेमा उपाध्यक्षहरु पुष्पकुमार शाही, सञ्जय यादव, विकास केसी, महामन्त्री सरोजकुमार थापा, सहमहामन्त्री प्रेमराज जोशी, अम्बिका चलाउने, प्रकाश घिमिरे र अच्युतराज कलौनी रहेका छन् । सभापति देउवालाई बुझाइएको राजीनामा पत्रमा सहमहामन्त्री चलाउनेको भने हस्ताक्षर गरिएको छैन ।

महर नेतृत्वको वर्तमान कार्यसमितिले १२ औं महाधिवेशन गर्न नसक्ने देखिएपछि आफूहरुले संगठनलाई निकास दिन पदबाट राजीनामा दिएको उनिहरुको भनाइरहेको छ ।

दोस्रो पटक म्याद थप भएपछि यहि पुस २८–३० सम्म काठमाडौंमा महाधिवेशन गर्ने नेविसंघले निर्णय गरेको थियो । तर महाधिवेशन घोषणा गरेको मिति आइसक्दा पनि नेविसंघले अहिलेसम्म १६ जिल्लामा मात्रै अधिवेशन सम्पन्न गर्न सकेको छ ।

अध्यक्ष महर नेतृत्वको कार्यसमितिको समयावधि माघ २ गते सकिँदैछ ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search