सुर्खेतका २२ वर्षीय युवकको कोहलपुरमा घाँटी रेटी हत्या

बाँके । बाँकेको कोहलपुरमा सुर्खेतका एक यूवको घाँटी रेटेर हत्या गरिएको छ ।

नेपाल प्रहरीमा भर्ना छनौटका लागि कोहलपुर गएका सुर्खेतको सिम्ता गाउँपालिका काफलकोटका २२ वर्षीय दिपकसिंह ठकुरीको हत्या भएको हो ।

शनिवार बिहान बाँकेको कोहलपुर नगरपालिका–११, नयाँ बसपार्क पछाडि ठकुरीको आधा घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।

कोहलपुर आफन्तको घरमा बस्दै आएका उनी शुक्रवार साँझ घरबाट निस्केको आफन्तले बताएका छन्। हत्याको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक मानबहादुर बिसीले जानकारी दिए।

‘आज बिहानमात्रै हामीले शव फेला पारेका छौँ,’ उनले भने, ‘हत्या कसले र किन गरे भन्ने विषयमा तालिम प्राप्त कुकुरको सहायताले अनुसन्धान गर्न सुरु गरेका छौं।’

प्रतिक्रिया दिनुहोस्
X
Type to search